
काठमाडौं २२ वैशाख- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विषक्षी दलको बिरोधका वाबजुद प्रधानन्यायाधीश सुशीला कार्की बिरुद्धको महाअभियोग प्रस्तावले संसदमा प्रवेश पाएको छ ।
व्यबस्थापिका संसदको शुक्रवार बसेको पहिलो बैठकमा सभामुख ओनसरी घर्तीले महाअभियोग प्रस्तावमाथि शुक्रवार दिउसो १ बजे छलफल सुरु गर्ने घोषणा गरेकी हुन् ।
संसदको बैठक बस्नुअघि सभामुख घर्तीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीसँग परामर्श गरेकी थिइन् ।
एमाले लगायत प्रतिपक्षी दलले महाअभियोग प्रस्ताव फिर्ता लिन या महाअभियोग सिफारिश समितिमा नलगी आइतवार नै मतदान गर्न प्रस्ताव गरेका थिए । महाअभियोग संसदको कार्यसूचीमा राख्ने नराख्ने बिषयमा विबाद भएपछि संसदको बिहीवार बस्ने भनिएको बैठक सूचना मार्फत स्थगित भएको थियो ।
यसअघि नेपाली कांग्रेस र माअोवादीका २ सय ४९ जना सांसदले प्रधानन्यायाधीश कार्कीविरुद्ध वैशाख १७ गते संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । संसदको दिउसो १ बजे बस्ने बैठकमा महाअभियोग प्रक्रिया शुरु गर्ने भनिएपनि प्रतिपक्षी दलहरुले संसदको बैठक अबरुद्ध गर्ने बताएका छन् ।