१० असार २०८३, बुधबार

जोखिम भत्ता नपाएपछि चिकित्सक आन्दोलित

भदौ १६, २०७७
जोखिम भत्ता नपाएपछि चिकित्सक आन्दोलित
प्रतिकात्मक तस्वीर

मेची अस्पताल झापाका चिकित्सक, नर्स तथा कर्मचारी कोेभिड–१९ को जोखिम मोलेर काम गरे पनि ‘जोखिम भत्ता’ नपाएको भन्दै मंगलवारदेखि आन्दोलनमा उत्रिएका छन् ।

सरकारले कोभिड–१९ को उपचारमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीलाई प्रोत्साहन भत्ता उपलब्ध गराउने भने पनि हालसम्म नपाएपछि उनीहरुले पहिलो चरणमा विरोधस्वरुप मंगलवारदेखि हातमा कालोपट्टी बाँधेर आन्दोलन शुरू गरेका हुन् । 

भदौ २३ गतेसम्म पहिलो चरणको आन्दोलनअन्तर्गत हातमा कालोपट्टी बाँधेर काम गर्ने अस्पतालका मेडिकल अफिसर डा. लेनिस पोखरेलले बताए । उनले मेची अस्पतालमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीले ५ महिनादेखि भत्ता नपाएको बताए ।

डा. पोखरेलले तत्काल भत्ता उपलब्ध गराउन माग गर्दै प्रदेश सरकार, स्थानीय प्रशासन र अस्पताल विकास समितिलाई निवेदनसमेत दिएको बताए । ‘हामी आफ्नो ज्यान जोखिममा पारेर सेवामा कार्यरत छौं,’ उनले भने, ‘सरकार आफैंले कोरोना संक्रमणविरुद्ध अग्रपंक्तिमा खटिने चिकित्सक, स्वास्थ्यकर्मीलगायत जोखिम भत्ता दिने व्यवस्था गरेको छ भन्यो तर हामीले अझै पाएनौं । बाध्य भएर आन्दोलनमा उत्रिनुपर्‍यो ।’

उनका अनुसार उनीहरूको माग सुनुवाइ नभए २४ गतेदेखि अस्पतालको ओपीडी सेवा समेत बन्द गरिने छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. पिताम्बर ठाकुरले असारमै जोखिम भत्ताका लागि सम्पूर्ण कागजातसहित हिसाब १ नम्बर प्रदेशको सामाजिक मन्त्रालयमा पठाइसकिएको बताए ।

उनले प्रक्रिया पुर्‍याएर काम गर्नुपर्दा रकम निकासीमा केही ढिलो भएको हुनसक्ने बताउँदै भने, ‘सायद अब चाँडै आउँछ होला । आउने बित्तिकै उहाँहरूको मागको सम्बोधन हुन्छ ।’ अस्पताल विकास समितिका अध्यक्ष तथा जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलले भने आफूलाई आन्दोलनबारे कुनै जानकारी नभएको बताए ।

salt training

कमेन्ट गर्नुहोस्