जनस्वास्थ्यविद्ले कोभिड-१९ का ५०० भन्दा बढी सङ्क्रमण भएका जिल्लालाई नियन्त्रण गर्न सके अरु जिल्लामा फैलन नसक्ने बताएका छन्।
स्वास्थ्य तथा जनसख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा जनस्वास्थ्यविद् डा सुरेश तिवारीले १२ जिल्लामा सङ्क्रमण समुदायस्तरमा नै पुगेकाले हटस्टप बनेको भन्दै नियन्त्रण गर्नुपर्ने बताए।
मन्त्रालयले बुधबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार मोरङ, सुनसरी, बारा, महोत्तरी, धनुषा, रौतहट, सर्लाही, पर्सा, चितवन, काठमाडौँ, ललितपुर र रुपन्देही जिल्लामा ५०० भन्दा बढी संक्रमित रहेका छन्। आज एकै दिन एक हजार ६९ जनामा सङ्क्रमण देखिएको छ। अहिलेसम्म ४० हजार ५२९ जनामा सङ्क्रमण देखिएको छ।
‘ती १२ जिल्ला सङ्क्रमणको हटस्पट भएको छ, त्यहाँ सङ्क्रमण समुदायस्तरमा पुगेको हामीले आकलन गरेका छौं,’ उनले भने।
जनस्वास्थ्यविद् डा तिवारीका अनुसार औसत २२ देखि २४ प्रतिशतले सङ्क्रमण बढिरहेको समेत जानकारी दिए। महिलामा ८ प्रतिशत, वृद्धामा एक प्रतिशतबाट चार प्रतिशत पुगेको छ । परीक्षण गरिएकामध्ये ८ देखि ९ प्रतिशतमा सङ्क्रमित बढिरहेको तथ्यांकले देखाएको उनको भनाइ छ। डा तिवारीले कोभिड १९ कै कारण मुलुकको अर्थतन्त्र ठप्प पार्न नहुने बताए।