०७ असार २०८३, आइतबार

प्रस्तावित १५ बुँदे कार्यसूची मन्थनबाट निस्किएला नेकपामा नयाँ ऊर्जा ?

प्रस्तावित १५ बुँदे कार्यसूची मन्थनबाट निस्किएला नेकपामा नयाँ ऊर्जा ?
तस्वीर स्रोत - प्रधानमन्त्रीको सचिवालय

गत भदौ १८ गते बसेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालय बैठकले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई स्थायी कमिटी बैठकसमक्ष कार्यसूची पेश गर्न म्यान्डेट दिएको थियो ।

म्यान्डेटअनुसार दुवै अध्यक्षले १५ बुँदे कार्यसूची तयार गरेका छन् । यो कार्यसूची शुक्रवार प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्ने स्थायी कमिटी बैठकमा पेश हुनेछ ।

यसअघि विवाद समाधानका लागि नेकपाले महासचिव विष्णु पौडेलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलले भदौ ६ गते बुझाएको प्रतिवेदनअनुसार अध्यक्षद्वयले स्थायी कमिटी बैठकका कार्यसूची तयार गरेका हुन् ।

स्थायी कमिटी बैठकमा पेश हुने कार्यसूचीमा दुवै अध्यक्षहरूले खासै मेहनत भने गरेनन् । कतिपय कामहरूको सन्दर्भमा कार्यदलले बुझाएको प्रतिवेदनलाई नै हुबहु उतारिएको छ ।

कार्यसूचीमा पार्टी एकताको महत्त्वलाई आत्मसात गर्ने, पद्धति र संस्थागत प्रणालीलाई सबल तुल्याउने, अध्यक्षद्वयको कार्यविभाजन तथा कार्याधिकार स्पष्ट पार्ने, एकताका बाँकी काम सम्पन्न गर्ने, राजनीतिक तथा संगठनात्मक क्षेत्रमा विविध कामहरू गर्ने जस्ता विषयहरू समेटिएका छन् ।

त्यसका साथै एकताको राष्ट्रिय महाधिवेशन आयोजना गर्ने, सरकारका कामहरू प्रभावकारी बनाउने, संसदीय दलको भूमिकालाई प्रभावकारी बनाउने, प्रदेश सरकार र स्थानीय निकायको भूमिका प्रभावकारी बनाउने, सीमा समस्या समाधान, कोरोना नियन्त्रण र रोकथाम, बाढी पहिरो र प्राकृतिक विपत्ति, शान्ति प्रक्रियाका बाँकी काम सम्पन्न गर्ने, प्रतिष्ठानहरूको व्यवस्थापन तथा सञ्चालन विधि निश्चित गर्ने, एमसीसीबारे पार्टीले उपयुक्त निर्णय गर्ने जस्ता १५ वटा बुँदा कार्यसूचीमा समावेश रहेका छन् ।

ओलीको अनिच्छाका बाबजुद नेकपाले गत असार १६ गतेदेखि स्थायी कमिटी बैठक डाकेको थियो । त्यसअघि वैशाख १० गते २० जना स्थायी कमिटी सदस्यले हस्ताक्षर गरेरै बैठक माग गरेका थिए । विधानतः एकतिहाइ सदस्यले बैठक माग गरेको १५ दिनभित्र बैठक बोलाउनु पर्छ । तर ओलीले बैठक बोलाउन आनाकानी गरिरहे ।

सरकारको नीति तथा कार्यक्रमका सम्बन्धमा छलफल गर्न वैशाख ३१ गते केही समय बैठक बसेको थियो । त्यसपछि एकैचोटी असार १० गतेलाई बैठक डाकियो । असार १० गते शुरू भएको बैठक पनि सौहार्दपूर्ण हुन सकेन । बैठकका लागि तोकिएका ७ एजेण्डाभन्दा बाहिर गएर बैठकमा सहभागी स्थायी कमिटी सदस्यले एकोहोरो ओलीको राजीनामा माग्न थालेपछि बैठक प्रभावित भएको थियो ।

त्यसपछि पटक–पटक स्थगित भएको स्थायी कमिटी बैठक साउन १३ गतेबाट बस्नै नसक्ने स्थितिमा पुग्यो । नेकपामा पार्टी विभाजन हुने डर र त्रास बढ्यो । प्रधानमन्त्री समेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच वाकयुद्ध चल्यो । अध्यक्ष वा प्रधानमन्त्री कुनै एक पदबाट राजीनामा दिनुपर्ने ओलीइतर पक्षको अडान र कुनै पनि हालतमा राजीनामा नदिने ओलीको अडानले पार्टी समस्यामा परेको थियो ।

अध्यक्षद्वयले तयार पारेको कार्यसूचीमाथि हुने छलफलबाट निस्कने निष्कर्षले पार्टीलाई एकजुट बनाएर अघि लैजाने दाबी नेताहरूले गरिरहेका छन् । स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले लोकान्तरसँग भने, ‘जग हसाउने काम नगर्नुपर्ने थियो, त्यो भयो । तर अब आशाको सञ्चार भएको छ । सामूहिक नेतृत्वलाई आत्मसात गरेर जाने, पार्टीको भावनाविपरीत सरकारले काम नगर्ने, पार्टीले अख्तियार गरेको नीति अनुसार समाजवादसम्म जान सहमत हुने कुरा राम्रो विषय हो ।’

नेकपाका अर्का स्थायी कमिटी सदस्य वेदुराम भुसालले भने अध्यक्षद्वयले तयार पारेको कार्यसूची टालेटुले भएको प्रतिक्रिया दिएका छन् । उनले बैठक पहिलाकै निरन्तरता भएकाले पहिलाकै एजेण्डामा छलफल हुने बताए । ‘कार्यदलले दिएको प्रतिवेदन र त्यसैका आधारमा बनाइएको कार्यसूची टालेटुले जस्तो देखिन्छ,’ भुसालले भने, ‘समस्याको ठोस समाधानका विषयहरू प्रतिवेदनमा परेको देखिएन ।’

अर्का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले यो तत्कालका लागि युद्धविराम भएको प्रतिक्रिया दिएका छन् । ‘यो तत्कालका लागि युद्धविराम हो । युद्धविरामका आचारसंहिताहरू हुबहु पालना हुने हो भने एउटा सकारात्मक निष्कर्षतिर पार्टी जान्छ, अन्यथा पुरानै भूमरीमा फस्छ,’ पोखरेलले भने ।

उनले कार्यदलको प्रतिवेदनले अन्तरविरोधको किटानी नगरेको भन्दै असन्तुष्टि व्यक्त गरे । ‘पार्टीभित्र देखिएको अन्तरविरोध के हो भन्ने विषयमा प्रतिवेदन केही बोलेको छैन,’ उनले भने, ‘अन्तरविरोध के हो भन्ने थाहा नै नपाई त्यसको हल हुन सक्दैन ।’ अन्तरविरोध वैचारिक राजनीतिक दृष्टिकोणसँग जोडिएको प्रश्न भएकाले त्यसलाई केन्द्रमा राखेर छलफल हुनुपर्ने पोखरेलको धारणा छ ।

यद्यपि शुक्रवारबाट पुनः सञ्चालन हुने स्थायी कमिटी बैठकमा यसबारे छलफल हुने उनले बताए । बैठकमा पुराना एजेण्डासँगै अध्यक्षद्वयले पेश गरेको कार्यसूचीउपर पनि छलफल हुनेछ । ‘बैठकमा पुरानै एजेण्डामाथि छलफल हुन्छन् र अहिले प्रतिवेदन पनि थपिएको छ,’ उनले भने ।

हेर्नुहोस् अध्यक्षद्वयले तयार गरेको कार्यसूची –

कमेन्ट गर्नुहोस्