सिन्धुपाल्चोक, २४ बैशाख - चीनको सीमामा अत्यधिक वर्षाका कारण शनिवार दिउँसोदेखि भोटेकोसीको सतह बढेपछि नदी आसपासका स्थानीय त्रसित भएका छन् । लगातार वर्षा भएकाले नदीको सतह बढ्दै गएकाले स्थानीय त्रसित भएका हुन्, कान्तिपुरमा खबर छ ।
सीमास्थित सशस्त्र प्रहरी बलका डिएसपी विमल डाँगीकाअनुसार सीमामा अबिरल वर्षाको कारण कोसी बढेर आएको हो । नदीले महिनौं लगाएर मर्मत गरिएका बाह्रबिसे तातोपानी सडकखण्ड भूभाग कटान गरेको छ । बाढीले तटीयक्षेत्रका आधिजस्तो जमिनसमेत बगाएको छ ।
गत वर्षको बाढीले तहसनहस बनाएपछि आफ्नो थलोमा फर्किएका सीमागाउँ तातोपानी, चौकीडाँडाका बासिन्दामा कोलाहल मच्चिएको छ । बाढी गएको दश महिनापछि वर्षायाम सुरु नहुँदै कोसी बढेपछि सीमाका बासिन्दामा त्रास फैलिएको हो ।
व्यापारिक केन्द्रका बजार बाह्रबिसे, लामोसाँघु खाडीचौरदेखि बलेफी, सुकुटेसम्मका बासिन्दामा बाढीको भय बनेको इलाका प्रहरी बाह्रबिसेले जनाएको छ ।