१९ साउनमा सरकारको नेतृत्व लिँदा माओवादी अध्यक्ष प्रचण्डले संविधानमा असहमति जनाउँदै आएका दललाई पनि सहमतिमा ल्याउने र स्थानीय तहको निर्वाचन गराउने दुई लक्ष्य रहेको बताएका थिए, नयाँ पत्रिकाले खबर छापेको छ ।

यी दुवै उद्देश्य पूरा गराउन सरकार सफल भएको निष्कर्ष माओवादी केन्द्रको छ । संविधानप्रति असन्तुष्ट दलहरू पनि आफ्ना विमति राख्दै निर्वाचनमा जाने वातावरण बनेको, नयाँ संरचनाअनुसार स्थानीय तहको संख्या निर्धारण गरी चुनावमा जाने अवस्था आउनुसम्मले प्रधानमन्त्री प्रचण्ड आफ्ना उद्देश्यमा सफल बनेको माओवादी नेताहरुले बताएका छन् ।
त्यस्तै, लोडसेडिङ अन्त्य गर्ने, आर्थिक वृद्धिदर बढाउने र विकास निर्माणका कामलाई अगाडि बढाउनेलगायत विषयमा प्रधानमन्त्री सफल देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । ‘आफ्नो योजनाअनुसार उहाँ सफल देखिनुभएको छ, अब विगतको सहमतिअनुसार सरकारको नेतृत्व हस्तान्तरण गर्न उहाँ आतुर हुनुहुन्छ,’ आचार्यले भने ।