काठमाडौं, २४ वैशाख –चुनाव आउन एक साता समय बाँकी रहँदा सरकारी संस्थान उपभोग्य वस्तुको जोहो गर्ने तयारीमा जुटेका छन् । चुनावको समयमा नियमित सरकारी काम, सार्वजनिक यातायात र व्यवसायीक गतिविधि पनि प्रभावित हुने हुँदा सरकारले उपभोग्य वस्तुको मौज्दात बढाएको छ ।

नेपाल आयल निगमका अनुसार निर्वाचनलाई केन्द्रीत गरेर इन्धनको भण्डारण ७० प्रतिशतसम्म पु-याईने छ । निगमका प्रवक्ता सिताराम पोखरेलले सबै प्रकारका इन्धन (पेट्रोल, डिजेल र हवाइ इन्धन) को मौज्दात कम्तीमा ७० प्रतिशत पु-याईने बताए । निगमका अनुसार निर्वाचनलाई केन्द्रीत गरेर कम्तीमा १० दिनलाई पुग्नेगरी भण्डारण गरिनेछ ।
हाल निगमको कुल पेट्रोलियम भण्डारण करीव ७१ हजार किलोलिटर छ । प्रवक्ता पोखरेलले निर्वाचतका लागि हालसम्म करीव ४१ हजार किलोलिटर पेट्रोलियम मौज्दात गरिसकिएको छ ।
निर्वाचन अवधिभर खाना पकाउने एलपी ग्यासमा पनि कुनै समस्या नआउने व्यवसायीहरू बताउँछन् । नेपाल एलपी ग्यास उद्योग संघका अनुसार हाल भएकै मौज्दातले करीव ३ साताको माग धान्छ । हाल व्यवसायीसँग करीव १७ लाख भरी सिलिण्डरको मौज्दात छ । त्यस्तै दैनिक झण्डै ७० बुलेट ग्यास आयात भइरहेको छ । एउटा बुलेटबाट १ हजार २ सय ५० सिलिण्डर भर्न सकिन्छ ।
त्यस्तै, निर्वाचनलाई लक्षित गरेर साल्ट ट्रेडिङ कर्पोरेसनले पनि मौज्दात अघि बढाएको छ । संस्थानका प्रवक्ता पंकज जोशीले निर्वाचन अवधिभर नून र चिनीको कुनै अभाव नहुने स्पष्ट पारे । निगमसँग हाल करीव १ लाख मेट्रिक टन नून मौज्दात छ । यो नूनले झण्डै १० महिनाको माग धान्छ ।
त्यस्तै, हाल संस्थानसँग ५ हजार मेट्रिक टन चिनी मौज्दात छ भने ७ हजार ५ सय मेट्रिक टन भारतबाट आयात हुँदैछ । निजी संस्थानसँग करीव ४० हजार मेट्रिक टन चिनी मौज्दात रहेको निगम बताउँछ । यो चिनीले करीव २ महिनालाई ढुक्क हुने जोशी बताउँछन् ।
संस्थानले निर्वाचनका लागि १५ हजार ग्यास सिलिण्डर पनि मौज्दात राखेको छ । ‘निर्वाचनको समय वरीपरीको समयमा उपभोग्य वस्तुको अभाव नहुने गरी त्यसको बन्दोबस्त गरेका छौं,’ प्रवक्ता जोशीले भने ।
नेपाल खाद्य संस्थानसँग पनि पर्याप्त मौज्दात रहेको संस्थानका प्रवक्ता शंकर सापकोटाले बताए । उनका अनुसार हाल मुलुकभर विभिन्न गोदाममा गरेर झण्डै ३ लाख क्विन्टिल चामल मौज्दात छ । यो चामलले झण्डै १ वर्षको अभाव टार्ने संस्थान बताउँछ । दूर्गम क्षेत्रमा पनि खाद्यान्नको पर्याप्त मौज्दात रहेको संस्थानको भनाइ छ ।