
काठमाडौं, २४ वैशाख –आठ वर्षपछि नेपाल औषधि लिमिटेडले औषधि उत्पादन थालेको छ । २०६६ सालदेखि बन्द रहेको संस्थानले आइतवारदेखि जीवनजल उत्पादन थालेको हो ।
औषधि उत्पादन सुचारु गर्न सरकारले साढे ६ करोड रुपैयाँ निकासा दिएपछि संस्थानले पहिलो चरण अन्तर्गत जीवनजल उत्पादन थालेको हो ।
विश्व स्वाथ्य संगठन (डब्लुएचओ)ले तोकेको कुशल निर्माण विधिबाट औषधि उत्पादनको लागि सरकारले संस्थानलाई १४ करोड ६५ लाख रुपैयाँ ऋण स्वरुप उपलब्ध गराउने निर्णय गरेको थियो ।
आगामी ३ महिनाभित्र सिटामोल लगायतका ‘नन पेन्सिलिन’ समूहका ट्यावलेट उत्पादन गर्न नवीकरण र आवश्यक मेशिन खरिद गर्ने गर्न ठेक्का सम्झौता अघि बढेको संस्थानले बताएको छ ।
दोस्रो चरणमा नेपाल औषधी लिमिटेडले अत्यावश्यक र बजारमा तुलनात्मक रुपमा बढी खपत हुने १५ भन्दा बढी प्रकारका नयाँ औषधि उत्पादन गर्ने लक्ष्य लिएको छ ।
क्याप्सुल, पेनिसिलिन गु्रपका औषधी, झोल तथा मलमहरु उत्पादन गर्ने र ‘इन्ट्राभेनस फ्लूड’ शाखा संचालनमा ल्याई स्लाईन तथा ‘हेमोडियालिसिस फ्लूड’ जस्ता अत्यावश्यक औषधिको उत्पादन गर्ने कार्यसूची रहेको लिमिटेडको भनाई छ ।
राष्ट्रिय स्वास्थ्य नीति –२०७१ अनुसार स्वास्थ्य मन्त्रालयसँग समन्वय गरी नेपाल सरकारबाट नि :शुल्क वितरण गरिने ७० प्रकारका औषधि तथा नेपाल सरकारले सूचिकृत गरेका अत्यावश्यक औषधीहरू उत्पादन गर्ने योजना रहेको संस्थानले जनाएको छ ।
विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्ड अनुसार गुणस्तरीय औषधि उत्पादन गर्न लिमिटेडले २७ भन्दा बढी अत्याधुनिक प्रविधियुक्त गुणस्तर मापन उपकरण जडान गरिसकेको छ ।