
पछिल्लो समय बिना जानकारी बत्ती जान थालेपछि उर्जा जलस्रोत मन्त्रालयले यसबारे जानकारी गराउन उपभोक्ताहरूलाई आग्रह गरेको छ ।
बिना जानकारी बत्ती जानु आपत्तीजनक भएको भन्दै मन्त्रालयले बिना कारण विजुलीको आपूर्ति बन्द गराए कर्मचारीलाई नै कारबाही गर्ने समेत चेतावनी दिएको छ ।
मन्त्रालयले सडक विस्तारका लागि पोल सर्दा, ट्रान्समिटर तथा तार जल्दा, मर्मत गर्नु पर्दाको अवस्थामा केही समय विद्युत् आपूर्ति भए बन्द हुनु स्वभाविक भए पनि विना कारण बिजुली जानु आपत्तिजनक भएको बताएको छ ।
उर्जा मन्त्री वर्षमान पुनको प्रेस विज्ञ दयानिधि भट्टले प्रेस विज्ञप्ति जारी गर्दै बिनाकारण बत्ती गएमा विद्युत प्राधिकरणको केन्द्रीय कार्यालय वा उर्जा मन्त्रालयकोृ सचिवालयमा तत्कालै सम्पर्क गर्न आग्रह गरेका छन् ।
उनले लेखेका छन् : 'सडक विस्तारका क्रममा आइतबार बिहान ८ बजेदेखि १० बजेसम्म र ११ बजेदेखि अपराह्न १ बजेसम्म ललितपुरको पौडेल गाउँ, किटिनी, लेनिनथोक, भ्यू भृकुटी लगायत स्थानमा ११ के. भी. प्रसारण लाइन नजिकैका ७ वटा ट्रान्सफर्मरबाट वितरित विद्युत आपूर्ति बन्द हुने पूर्वसूचना नेपाल विद्युत प्राधिकरण लगनखेल वितरण केन्द्रले जारी गरेको थियो ।
त्यस सम्बन्धमा केही ग्राहकमा भ्रम पर्न गएको भान भएकाले स्पष्टताका लागि यो जानकारी दिइएको हो । यदि कतै पूर्व जानकारी बिना विद्युत सेवा नियमित नभएको अवस्थामा माननीय ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री श्री वर्षमान पुन अनन्तको सचिवालय वा नेपाल विद्युत प्राधिकरणको केन्द्रीय कार्यालयमा तत्काल खबर गर्नुहुन अनुरोध छ । सम्पर्कका लागि मन्त्रीज्यूको सचिवालयको हटलाइन नम्बर–११५१ मा २४ सै घण्टा वा ९८५११०९८३५ मा फोन गर्न सक्नुहुनेछ ।'