२६ जेठ २०८३, मंगलबार

लेखापढीको चलखेल रोक्न सीसी क्यामेराको निगरानीमा मालपोत कार्यालय

असोज ५, २०७७
लेखापढीको चलखेल रोक्न सीसी क्यामेराको निगरानीमा मालपोत कार्यालय
प्रतिकात्मक तस्वीर

मालपोत कार्यालय तनहुँको गतिविधिलाई सीसी क्यामेराले निगरानी गरिराखेको छ ।  

भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्रालय, भूमि व्यवस्था तथा अभिलेख विभागको सहयोगमा साउन्ड रेकर्ड सहितको सीसी क्यामेरा जडान गरिएपछि सो कार्यालयको गतिविधिको निगरानी भइरहेको हो । 

मन्त्रालय र विभागले सबै मालपोत कार्यालयमा सीसी क्यामेरा जडान गर्ने अभियान थालेको छ । सीसी क्यामेरामा रेर्कड भएका कुरा ६ महिनासम्म सुरक्षित रहने मालपोत कार्यालय तनहुँले जनाएको छ । सीसी क्यामेरा जडानले लेखापढी कानून व्यवसायी र कर्मचारीबीच हुने भनिएको आर्थिक चलखेल र अनियमितता पूर्णरूपमा अन्त्य हुने विश्वास गरिएको मालपोत कार्यालय तनहुँका प्रमुख शेरबहादुर भण्डारीले बताए ।

उनका अनुसार कार्यालयको सुरक्षा, कर्मचारीद्वारा सेवाग्राहीलाई गरिने व्यवहार, कार्यमा पारदर्शीता, अभिलेखको सुरक्षालगायतका क्षेत्रमा सीसी क्यामेराबाट निगरानी बढाइएको छ । ‘कार्यालयको १५ वटै कोठामा सीसी क्यामेरा जडान गरिएको छ,’ उनले भने, ‘सीसी क्यामेरा जडान पश्चात लेखापढी कानून व्यवसायीलाई कार्यालयको फाँटमा पस्न रोक लगाइएको छ ।’ 

कार्यालयले महिला, दलित, जनजाति, शहीद, अपाङ्गता र कृषि फार्मको लागि रजिष्ट्रेशन पास गर्दा २५ प्रतिशत राजश्वमा छुटको व्यवस्था गरेको छ । प्रायः दैनिक भीडभाड हुने यो कार्यालयमा कोभिड– १९ का कारण पछिल्लो समय सुनसान जस्तै देखिएको थियो । अहिले पुनः सेवाग्राहीको संख्या बढ्दै गएको कार्यालयले जनाएको छ ।

कार्यालयले आव ०७५/७६ मा २८ करोड ५८ लाख ६९ हजार १९९ र आर्थिक वर्ष ०७६/७७ मा २४ करोड ४६ लाख ४८ हजार ८४ राजस्व संकलन गरेको जनाएको छ ।

लकडाउनका कारण करिब तीन महिना कार्यालय बन्द नै गर्नुपरेकाले यस आवमा राजस्व संकलनमा अझै कमी आउनसक्ने अनुमान गरिएको कार्यालय प्रमुख भण्डारीले बताए ।

salt training

कमेन्ट गर्नुहोस्