२७ जेठ २०८३, बुधबार

फरार अभियुक्तहरू धमाधम पक्राउ

असोज ५, २०७७
फरार अभियुक्तहरू धमाधम पक्राउ
प्रतिकात्मक तस्वीर

जिल्ला प्रहरी कार्यालय तनहुँले विभिन्न अपराध एवं मुद्दामा संलग्न रही फरार रहेका व्यक्तिलाई धमाधम पक्राउ गर्न थालेको छ । 

जिल्ला अदालतबाट फैसला भई दण्डजरिवाना, दसौदी, कोर्ट फि र सरकारी बिगोसमेत तिर्न बाँकी भई फरार रहेको व्यक्तिलाई प्रहरीले असारको दोस्रो सातादेखि खोजी कार्यलाई तीव्रता दिँदै आएपछि अभियुक्तहरू पक्राउ पर्न थालेका हुन् ।

गत असारमा ९, साउनमा ४५, भदौमा ५४ र असोज ४ गतेसम्म २६ गरी कूल १३४ जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी उपरीक्षक युवराज तिमिल्सेनाले जानकारी दिए ।

उनका अनुसार जरिवाना भुक्तान बाँकी रहेका व्यक्तिबाट हालसम्म २३ लाख १५ हजार ८५३ रकम संकलन भएको छ । ठगी, चोरी, बहुविवाह, सवारी ज्यान, कर्तव्य ज्यान, लागुऔषध, बैंकिङ कसुर, किर्ते, वन, सार्वजानिक अपराध, तथा देवानीलगायत मुद्दामा  फरार रहेका व्यक्ति पक्राउ परेको प्रहरीले जनाएको छ । 

तोकिएको कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका भानु नगरपालिका–१३ सम्जुरका ३० वर्षीय सुरेन्द्रकुमार श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । तनहुँ जिल्ला अदालतले विक्रम संवत् २०७३ चैत १७ गते बहुविवाह सम्बन्धि मुद्दामा उनलाई १ वर्ष कैद र १० हजार जरिवाना हुने गरी फैसला सुनाएको थियो ।

तीमध्ये ११ महिना १९ दिन कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रही विगत ४ वर्षदेखि फरार रहेका श्रेष्ठलाई पक्राउ गरी जिल्ला अदालत समक्ष पेश गरिएको प्रहरी नायब उपरीक्षक तिमिल्सेनाले बताए ।

लागूऔषध मुद्दाका फरार अभियुक्त बन्दिपुर–१ नहालाका किना परियारलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत तनहुँले विक्रम संवत् २०७७ वैशाख २ गते लागूऔषध सम्बन्धी मुद्दामा उनलाई ६ महिना कैद तथा ३ हजार जरिवाना हुने फैसला गरेको थियो । तीमध्ये ४ महिना १९ दिन कैद भुक्तान गर्न बाँकी रही फरार रहेकी उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । 

प्रहरीका अनुसार विभिन्न मुद्दाका फरार अभियुक्तमध्ये २५ जना आइतवार पक्राउ परेका छन् । उनीहरूलाई तोकिएको जरिवाना र कैद भुक्तानका लागि जिल्ला अदालत समक्ष उपस्थित गराइएको छ । 

salt training

कमेन्ट गर्नुहोस्