
मन्त्रिपरिषद् पुनर्गठन लगायत ४ बुँदे एजेण्डामा छलफल गर्न नेपाल कम्युनिस्ट पार्टी (नेकपा) सचिवालयको बैठक शुरू भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा शुरू बैठकमा मन्त्रिपरिषद् पुनर्गठन लगायत एजेण्डा रहेको एक सचिवालय सदस्यले जानकारी दिए ।
आइतवार पार्टी केन्द्रीय कार्यालय कोटेश्वर पेरिसडाँडामा बसेको सचिवालय बैठकले मन्त्रिपरिषद् पुनर्गठन गर्ने नीतिगत निर्णय गरेको थियो ।
आइतवारको बैठकमा पुनर्गठनका मापदण्डबारे सामान्य छलफल भएपनि निर्णय भएको थिएन ।
पहिलो चरणमा मन्त्री बनेका सबैलाई फेर्ने, दुई वर्ष पूरा भएकालाई फेर्ने, पुराना केहीलाई हटाएर नयाँ नियुक्ति गर्ने लगायत प्रस्ताव प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका थिए ।
सोमवारको बैठक स्थगित भएर मंगलवार पुनः सचिवालय बैठक बसेको हो ।
बैठकमा लागि केन्द्रीय सदस्यहरूलाई नियमित आर्थिक सहयोग गर्ने, कोरोना कालमा संघीय सांसदको भत्ता के गर्ने लगायत एजेण्डा तय भएका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी गराएका छन् ।
दशैंअगावै मन्त्रिपरिषद् पुनर्गठन गर्नेगरी नेकपामा तयारी भएको छ ।
मन्त्रिपरिषद् पुनर्गठनको विषयलाई लिएर सोमवार पनि अध्यक्ष एवं प्रधानमन्त्री ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल भएको थियो ।