०५ असार २०८३, शुक्रबार

पहाडी ३ जिल्ला जोड्ने सडक विस्तार शुरू

असोज ७, २०७७
पहाडी ३ जिल्ला जोड्ने सडक विस्तार शुरू
प्रतिकात्मक तस्वीर

सुदूरपश्चिम पहाडका ३ जिल्ला जोड्ने सडकको रूपमा बैतडीको महत्त्वपूर्ण गन्ना–गनैखान सडकको ट्रयाक विस्तार गर्ने कार्य शुरू भएको छ ।

बझाङ जिल्लासँग जोडिने जिल्लाको महत्त्वपूर्ण सडकका रूपमा रहेको सो सडकको ट्रयाक विस्तारको काम शुरू भएको हो ।  

बैतडीको गन्नादेखि बझाङको सिमाना गनैखानसम्म २० किलोमिटर ट्रयाक खोल्नका लागि निर्माण कम्पनीसँग सम्झौता भएर काम अघि बढिसकेको पूर्वाधार विकास कार्यालयका प्रमुख जगतप्रसाद जोशीले जानकारी दिए । चन्द्रा एण्ड वसन्ता जेभी ग्वाल्लेक निर्माण सेवाले ७ करोड रुपैयाँ लागतमा सो सडकमा काम गर्न थालेको हो ।

गन्नादेखि गनैखानसम्मको सडकलाई पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण सडकका रूपमा लिन सकिने स्थानीय सन्तोष रानाले बताए । उनले भने, ‘३ जिल्ला जोड्ने सडकका रूपमा यो सडकलाई लिन सकिन्छ र यसले स्थानीयस्तरको पर्यटन प्रवद्र्धनमा टेवा पुर्‍याउने छ ।’ 

सडकले बैतडी, दार्चुला र बझाङलाई जोड्ने छ । डिलाशैनी गाउँपालिका–१ का वडाध्यक्ष अक्कल रानाका अनुसार बझाङको कालङ्गा जलविद्युत् आयोजना र चमेलिया जलविद्युत् आयोजनाको सर्किट जोड्न पनि यो सडकले महत्त्वपूर्ण योगदान पुग्ने छ । सडकको ट्रयाक खोल्न २ वर्षको अवधि रहेको पूर्वाधार विकास कार्यालय बैतडीले जनाएको छ । 

डिलाशैनीकै पर्यटकीय क्षेत्रको रूपमा रहेको खुमटसम्मको सडकका लागि १० करोड रुपैयाँ बजेट विनियोजन भएको र यसै वर्षदेखि काम शुरू हुने वडाध्यक्ष रानाले जानकारी दिए । उनका अनुसार संघीय सरकारको समपूरक अनुदान र गाउँपालिकाको लागतमा सो सडक निर्माण गरिने छ ।

salt training

कमेन्ट गर्नुहोस्