काठमाडौं, २५ बैशाख - दुई वर्षभित्र काठमाडौंमा मेट्रो रेलको विस्तृत परियोजना प्रतिवेदनसम्म पनि तयार पार्न सकिँदैन । तर महानगर मेयरका एमाले उम्मेदवार विद्यासुन्दर शाक्यले दुई वर्षमा मेट्रो र तीन वर्षमा मोनो रेल कुदाउने घोषणा गरेका छन् ।

हचुवाकै भरमा रेल कुदाउने सपना बाँडेपछि नागरिक र विज्ञले व्यंग्य गरिरहेका छन् । वातावरणविद् भूषण तुलाधरले ट्विटरमा तीन वर्षभित्र विस्तृत योजना पनि तयार नहुने बताउँदै वाहियात सपना नबाँड्न सुझाव दिएको खबर अन्नपूर्ण पोस्टले छापेको छ ।
कांग्रेसका मेयर उम्मेदवार राजुराज जोशीले पनि पाँच वर्षभित्र काठमाडौंमा मेट्रो रेल चलाउने घोषणा गरिसकेका छन् । पाँच वर्ष (आफ्नो कार्यकाल) मा राजधानीवासीले रेल चढिसकेको हुने उनको दाबी छ । उनले पनि अध्ययन गरेर योजना अगाडि सरेको होइन । त्यसैले पत्याउने आधार देखिँदैन । विकसित मुलुकमा पनि यति छोटो अवधिमा रेल कुदाउन सम्भव नभएको विज्ञ बताउँछन् । नेपालमा डीपीआर तयार पार्न नै दुईतीन वर्ष लाग्छ ।
जोशी र शाक्यजस्तै स्थानीय तहका उम्मेदवार यतिबेला जनतामाझ लोकप्रिय सपना बाँड्न व्यस्त छन् ।
कुन पार्टीको कस्तो सपना
कांग्रेस
- दस वर्षमा मध्यम आययुक्त मुलुक
-७-१० प्रतिशत आर्थिक वृद्धिदर
-३२ लाख पर्यटक
-१० हजार मेगावाट बिजुली
-सबै टोलमा पक्की सडक, द्रुतमार्ग, पाँच सय किमि रेल, ५० हजार किमि कालोपत्र, चारवटा अन्तर्राष्ट्रिय विमानस्थल, मेट्रो रेल, मोनो रेल, टनेलमार्ग
-वार्षिक तीनदेखि पाँच लाख रोजगारी
-वृद्धभत्तामा उल्लेख्य वृद्धि
-औसत आयु ७७ वर्ष
-मृत्युदर ३ प्रतिशतभन्दा कम
-९५ प्रतिशत साक्षरता
नेकपा एमाले
-प्रतिव्यक्ति आम्दानी १० वर्षमा पाँच हजार डलर, २५ वर्षमा १५ हजार डलर
-तीव्र आर्थिक वृद्धिदर
-दस वर्षमा ५० लाख पर्यटक
- १५ हजार मेगावाट बिजुली
- द्रुतमार्ग, हुलाकी राजमार्ग, पूर्व-पश्चिम राजमार्ग ६ लेन, चार लेनको मध्यपहाडी राजमार्ग, चीन र भारत जोड्न फराकिला सडक, पानीजहाज, रेलमार्ग
-दस वर्षभित्र १८ वर्ष पुगेका सबैलाई रोजगारी
-वृद्धभत्ता पाँच हजार, सुत्केरीलाई पाँच हजार
माओवादी केन्द्र
-तीव्र आर्थिक वृद्धिदर
-विद्युत् उत्पादनमा जोड
-ग्रामीण हरित सडक निर्माण
-रोजगारीको व्यवस्था नहुँदासम्म बेरोजगार भत्ता
-सुत्केरी भत्ता, बेरोजगार भत्ता, एकल महिला र ६० वर्ष पुगेकालाई पेन्सन
-गाउँगाउँमा निःशुल्क वाइफाई
-औद्योगिक क्षेत्र निर्माण, द्रुतमार्ग, मेट्रो लाइन, खानेपानी, विद्युत् आपूर्ति, खुला ठाउँ
नयाँ शक्ति
-प्रतिव्यक्ति आम्दानी (डलरमा) : ५ वर्षमा २०००, १५ वर्षमा ६०००, २५ वर्षमा १५०००
-दुई दशकभित्र दुई अंकको वृद्धिदर
-पाँच वर्षमा २० लाख, १५ वर्षमा ४० लाख, २५ वर्षमा ७५ लाख पर्यटक
-१५ वर्षमा १५ हजार मेगावाट, २५ वर्षमा ५० हजार मेगावाट बिजुली
-चारवटा उत्तर-दक्षिण आर्थिक करिडोर
-पाँच वर्षमा वार्षिक तीन लाख, १५ वर्षमा चार लाख र २५ वर्षमा पाँच लाख रोजगारी
-
राप्रपा
- ऊर्जा उत्पादनमा जोड
- सबै सहर स्मार्ट सिटी
- रोजगारी दिने उद्योगलाई कर छुट
- एक घर एक रोजगारी
- सबै स्थानीय निकायमा २५ बेडको अस्पताल
- स्वास्थ्य बिमा