काठमाडौँ, २५ वैशाख - उपचार गर्नुभन्दा रोग लाग्न नदिनु राम्रो र त्यसका लागि सरसफाइमा विशेष ध्यान दिन सुझाव दिने गरिन्छ । त्यस्तो सन्देश चिकित्सकको सल्लाहअनुसार नै आउने गर्दछ तर तिनै चिकित्सकको कार्यकक्षका शौचालय देख्दा सद्दे मान्छे नै बिरामी हुने अवस्था छ, गोरखापत्रमा खबर छ ।
उपत्यकाका सरकारी अस्पतालका शौचालय तथा सरसफाइ नभएका कारण बिरामी झन् बिरामी हुनुपर्ने अवस्था छ । सरकारी अस्पतालका शौचालय यति दुर्गन्धित छन् कि जसको असरले सामान्य मानिससमेत अस्पतालमा टिक्न सक्ने अवस्था हुँदैन । सरकारी अस्पतालमा सरसफाइलाई पनि त्यति ध्यान दिएको पाइँदैन ।
अस्पताल व्यवस्थापन कमजोरीका कारण सरकारी अस्पतालका शौचालय जानै नसक्ने अवस्थामा छन् भने कतिपय शौचालय खैनी, चुरोट, गुट्खा, पान तथा अन्य फोहोरले गर्दा दुर्गन्धित छन् ।
नेपालकै सबैभन्दा पुरानो वीर अस्पतालका हरेक शौचालय पसिनसक्नु छन् । बाध्यतावश दिसापिसाब गर्न गएका मानिसले नाक थुन्नुपर्ने अवस्था छ ।
वीर अस्पतालसँगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, भक्तपुर अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल, पाटन मानसिक अस्पताललगायतका अस्पतालका शौचालयमा नाक थुनेर भित्र छिर्नुपर्ने बाध्यता छ ।
केही दिनअघि वीर अस्पताल पुग्दा पुरानो आईसीयू पछाडिको शौचालय शौच गर्न त परै जाओस्, हेर्दासम्म बान्ता आउने देखिन्थ्यो । शौचालयभित्र पानीका बोतलदेखि लिएर दिसापिसाब नै माथि तैरिएको थियो ।
त्यहाँ मात्र होइन, भुइँ तलामा बिरामीको रगत सङ्कलन ल्याब छेवैको शौचालयमा मानिसको लाम देखिन्थ्यो भने शौचालयबाट आएको दुर्गन्धले बिरामी नाक छोप्न बाध्य थिए । अस्पतालको हरेक तलाका हरेक वार्डका शौचालय अगाडि पान खाएर थुकेको देखिन्थ्यो भने दुर्गन्ध त्यत्तिकै थियो ।