काठमाडौँ, २५ बैशाख -आफूलाई खराब भनेर टिप्पणी गरेको प्रतिशोधमा एक युवकले मामाका छोराको निर्मम हत्या गरेका छन् । पोखरा स्थायी घर भई भक्तपुर कौशलटार बस्ने २७ वर्षीय पारस कोइरालाले सौरव सुवेदीको हत्या गरेका हुन् । आइतबार बिहान साढे ७ बजे उनको हत्या भएको हो । झापा स्थायी घर भएका सुवेदी नेपाल एसबीआई बैंंकमा कार्यरत थिए ।
यता कोटेश्वरको एक गेस्टहाउसमा युवतीको हत्या भएको खबर नयाँ पत्रिकाले छापेको छ । आकासेपुलस्थित होटेल होम गेस्टहाउस एन्ड रेस्टुरेन्टमा काभ्रे महांकालचौर–८ घर भएकी २८ वर्षीया लक्ष्मी तामाङको हत्या भएको हो । होटेलमै बसेका विष्णु सापकोटाले उनको हत्या गरेको प्रहरी आशंका छ । सापकोटाले आइतबार बिहान आफू केही समय एयरपोर्ट गएर आउने बताएका थिए । तर, दिउँसो नआएपछि उनी बसेको कोठा खोलेर हेर्दा तामाङको शव भेटिएको थियो । उनको शवमा निलडाम रहेकाले हत्या नै गरिएको प्रहरीले जनाएको छ । सापकोटा कोठामा बाहिरबाट ताला लगाएर निस्किएका थिए । होटेल बुक गर्दा उनले तामाङ आफ्नी श्रीमती भएको बताएका थिए ।