
काठमाडौं, २५ वैशाख – सर्वोच्च अदालतले कानून दिवसका अवसरमा मंगलवार (भोलि) आयोजना गर्ने चियापान कार्यक्रम प्रधानमन्त्री पुष्पकमल दाहाल, सभामुख ओनसरी घर्ती, कानूनमन्त्री अजयशंकर नायक र महान्यायाधिवक्ता रमनकुमार श्रेष्ठ लगायतले बहिष्कार गर्ने भएका छन् ।
सर्वोच्च अदालतका रजिस्ट्रार नृपध्वज निरौलाले कार्यक्रममा सहभागी हुन भन्दै उनीहरूलाई निमन्त्रण लेखिसकेका छन् । सर्वोच्चको चियापानमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि अनुपस्थित हुने भएका छन् ।
त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रका मन्त्री, सभासद् लगायत केही उच्चपदस्थ अधिकारी पनि सर्वोच्चको चियापानमा नजाने भएका छन् ।
प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव विचाराधीन अवस्थामा रहेको भन्दै प्रधानमन्त्री, सभामुख र कानूनमन्त्री लगायतले सर्वोच्चको चियापान बहिष्कार गर्ने भएका हुन् ।
महाअभियोग प्रस्ताव विचाराधीन रहेकै अवस्थामा सर्वोच्चका न्यायाधीश चोलेन्द्रशमशेर जबराले प्रधानन्यायाधीश कार्कीलाई काममा फर्कन गएको शुक्रवार आदेश दिएका थिए । उक्त आदेशसँगै प्रधानन्यायाधीश काममा फर्केकी छन् । उनले आफूले मुद्दा नहेरे पनि मुद्दाको पेशी तोक्ने र प्रशासनिक काम गर्ने गरेकी छन् ।सभामुख ओनसरी घर्तिले महाअभियोग संसद्को विशेषाधिकार भएको बताइसकेकी छन् ।