
चीन सरकारको मुखपत्र ग्लोबल टाइम्सले शनिवार एक आलेख प्रकाशन गर्दै भारतीय मिडियालाई झूटो खबर नफैलाउन चेतावनी दिएको छ ।
विज्ञहरूले भारतीय सञ्चारमाध्यमलाई चीनबाट जोखिम रहेको भन्दै झूटो खबर र अफवाह नफैलाउन चेतावनी दिएको भनी ग्लोबल टाइम्सले लेखेको छ ।
यस्ता खबरले द्विपक्षीय सम्बन्धलाई राम्रो नगर्ने ग्लोबल टाइम्समा लेखिएको छ ।
भारतीय सञ्चारमाध्यमहरूले नेपाललाई इन्च इन्च गरी चीनले अतिक्रमण गरेको र अतिक्रमित भूमिमा भवनहरू बनाएको भनी दाबी गरेको विषयलाई ग्लोबल टाइम्सले उठाएको हो ।
नेपालको परराष्ट्र मन्त्रालयले यस्ता दाबीलाई खण्डन गर्दै बुधवार विज्ञप्ति निकालिसकेको स्मरण आलेखमा गराइएको छ । ती भवनहरू नेपाली भूभागमा नरहेको नापी विभागले पुष्टि गरिसकेको छ भनी विज्ञप्तिको सार पनि ग्लोबल टाइम्सले छापेको छ ।
चीनका सैन्यविद् तथा टिप्पणीकार सोङ झोङपिङले भने, ‘आफूले नेपालमाथि प्रभुत्व जमाएको सोच भारतले पाल्ने गरेको छ र नेपालमा चीनले अतिक्रमण गरेको भन्दै भारतले नेपाल पसेर नियन्त्रण जमाउने बहाना खोजिरहेको हो,’ सोङले भने । भारतको प्रभुत्ववादी क्रियाकलापका लागि भारतीय सञ्चारमाध्यमले माहौल बनाइरहेको सोङको भनाइ छ ।
यससँगै भारतले चीनसँगको सीमामा सैनिक संख्या बढाएको र अग्रपंक्तिका सैनिकहरूलाई चिनियाँ सेनासँगको भिडन्तमा गोली हान्ने आदेश दिँदा सीमामा द्वन्द्वको जोखिम झनै बढ्ने र भारतकै लागि खतरनाक परिणाम आउने चेतावनी पनि चिनियाँहरूले दिएका छन् ।