
काठमाडौंको बालाजु बाइपासमा सञ्चालित बज्रबाराही मिठाइ पसल मिठाइ बिक्री वितरणमा रोक लगाइएको छ ।
पसल फोहोर भएको, तयारी खाद्य वस्तु खुला राखेको, सेल, पुरी बनाउन प्रयोग गरिने भाँडा नमाझेको, तेल नफेरेको, भान्सा कहिल्यै सफा नगरेको, बिक्री गरेका बाँकी सामान भान्सामा राखेर सम्भव भएसम्म फेरि बेच्ने गरेको पाइएकाले बिक्री वितरणमा रोक लगाइएको काठमाडौं महानगरपालिकाले जनाएको छ ।
महानगरको उपभोक्ता हित संरक्षण समितिको टोली पसलमा पुग्दा नुवाकोटतर्फ जाने यात्रीहरूको भीड थियो । उनीहरू पसलमा बिहानको खाजा खाइरहेका थिए । घामको प्रकाश नआउने पसलमा चहकिलो बत्ती पनि थिएन । खाना खुल्ला बेचिरहेको देखेर भित्र पसेको अनुगमन टोलीका सदस्यहरूलाई भान्सामा १० मिनेट टिक्न कठिन भयो ।

ग्राहकहरू माथिल्लो तलामा खाजा खाइरहेका थिए । उनीहरूले माग गरेको सामान तल्लो तलाबाट आएको देखेर तल्लो तलामा जान खोज्दा व्यापारीले तल केही नभएको, आफ्नो सबै कारोबार माथिल्लो तलाबाट भएको भन्दै तल जान मानेका थिएनन् ।
जबरजस्ती तल्लो तलामा पुगेको टोली १० मिनेट पनि टिक्न सकेन । काठको अप्ठ्यारो भर्याङ्बाट तल झर्दा साँघुरा कोठा भएको ठाउँमा पुगियो ।

भान्सा र भास्नेको सफाइ र खाद्यवस्तुको चालचलन मानव स्वास्थ्य अनुकूल नभेटिएपछि अनुगमन टोलीले भौतिक अवस्था र सरसफाइमा सुधार नगरुञ्जेल पसलबाट कुनै पनि मिठाइ, तरकारी तथा अन्य खाद्यवस्तु बेच्न नपाउने गरी रोक्का गरेको महानगरपालिकाले जनाएको छ ।
पसलमा लुकाएर राखेका कारण ढुसी आएको १ डेक्ची रोटी, २ डेक्ची समोसा, विभिन्न खालका ८ बोरा मिठाइ, १ डेक्ची मालपुवा, ३ ट्रे गुँदपाक बरामद गरेर फोहोरको गाडीमा पठाइएको अनुगमन टोलीका संयोजक एवं महानगरका कृषि विभाग प्रमुख हरिबहादुर भण्डारीले जानकारी दिए ।

‘माछापोखरी क्षेत्रमा रहेका खाद्यान्न पसलहरूमा उपभोग गर्ने मिति सकिएका सामानहरू समेत बेच्ने गरेको पाइयो,’ उपभोक्ता अधिकार संरक्षण मञ्चका अध्यक्ष माधव तिमिल्सेनाले भने,‘ नुवाकोट, रसुवालगायत ठाउँबाट आएर हतारमा फर्किने जनसाधारणलाई यस्ता बस्तु बेच्ने गरेको देखिन्छ । हतारमा भएका यात्रीले मिति हेर्दैनन् । उनीहरूलाई सामान प्राप्त गर्नेसँग मात्र सम्बन्ध देखिन्छ । पसलमा आधाभन्दा धेरै सामान कि त म्याद सकिएका कि त लेबल नराखिएका छन् ।’

