
कोभिड–१९ को जोखिमबीच काठमाडौं उपत्यकामा सवारी तथा मानवीय चाप बढ्न थालेको छ ।
सवारीसाधान झण्डै साविकको तुलनामा बढी सञ्चालन हुन थालेको छ भने ट्राफिक जामसमेत बढ्न थालेको पाइएको छ ।
बाहिरी जिल्लाका सवारी आवतजावत बढेकाले पनि उपत्यकामा मानिसको आवागमनसमेत बढेको महानगरीय प्रहरी कार्यालय काठमाडौंले जनाएको छ ।
सवारी भित्रिने क्रम बढेकाले मानिसको चहलपहलमा वृद्धि भएको प्रहरीले जनाएको छ । मानिस र सवारीको चाप हुँदा कोभिड–१९ को जोखिम बढेको छ ।
उपत्यका नगरपालिका फोरमका सचिव मध्यपुर थिमी नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले अन्य जिल्ला र उपत्यकाको हकमा एउटै नियम लागू गर्दा कोरोनाको संक्रमण दर बढेको बताए । ‘हामी उपत्यकाको नाका खोल्न नहुने पक्षमै थियौं, सरकारलाई सुझाव पनि दिएको हो । तर कार्यान्वयन नहुँदा भीडभाड र संक्रमण दर बढेको छ,’ उनले भने, ‘उपत्यका र अन्य जिल्लामा एउटै नियम लागू गर्नुहुन्न भन्ने पक्षमा हामी छौं ।’
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार अहिले झण्डै २० हजार सवारीसाधन उपत्यका भित्रिने र सोही हाराहारीमा बाहिरिने गरेको छ । सोमवार उपत्यकामा ४ हजार ५८३ सवारीमा १९ हजार ९०० यात्रु भित्रिएका थिए । ४ हजार ६९८ सवारीमार्फत २० हजारभन्दा बढी यात्रु बाहिरिएका छन् । फलस्वरुप भीडभाड बढेको महसूस भएपछि मंगलवारदेखि भने विशेष आदेशको पूर्ण कार्यान्वयनमा लागेको उपत्यकाको ट्राफिक प्रहरीले जनाएको छ ।
काठमाडौं उपत्यकामा जोरबिजोर प्रणालीअनुसार सवारी सञ्चालनमा छ । सार्वजनिक सवारीसाधनले पनि आधा मात्रै यात्रु राखेर हिँड्न पाउँछन् । सवारीले ५० प्रतिशत बढी भाडा लिन पाउने व्यवस्था गरिएको छ । आवश्यक स्वास्थ्य सुरक्षा मापदण्डअनुसार सवारी चलाउन भनिएको छ । सबै सवारीले पूर्णरूपमा आदेश लागू गरेका छैनन् भने जोरबिजोर प्रणालीमा समेत बेपर्वाह भएको पाइएको प्रहरीले जनाएको छ । प्रमुख श्रेष्ठले जोरबिजोर प्रणाली अहिले कागजमै सीमित भएको बताए । त्यसकारण पनि उपत्यकामा भीडभाड बढेको हो ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमखु प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकाल १–२ दिन केही खुकुलो हुँदा सवारी बढेको पाइएकाले आजदेखि जोरबिजोरको पूर्ण कार्यान्वयनमा प्रहरी परिचालन गरिएको बताए । आज मध्याह्नसम्ममा मात्रै उपत्यकामा १ हजार १०० सवारीलाई कारवाही गरिएको उनले जानकारी दिए ।
उनका अनुसार सामाजिक र भौतिक दूरी कायम नगर्ने सवारी साधानलाई समेत कारवाही तीव्र पारिएको छ । तोकिएभन्दा बढी भाडा लिएको, बढी यात्रु राखेको तथा स्वास्थ्यमापदण्ड प्रयोग नगरेको पाइएमा पनि सवारीलाई कारवाही गरिने उनले बताए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक रुपमा सार्वजनिक गर्ने गरेको विवरण अनुसार देशभर कोरोना संक्रमित मानिसको झण्डै आधा उपत्यकाका व्यक्ति छन् ।
उपत्यकाको भीडभाड रोक्न विशेष व्यवस्था गर्नुपर्ने जनस्वास्थ्य विज्ञको सुझाव छ । त्यसका लागि पहिलो शर्त भनेको भीडभाड रोक्नु, भौतिक दूरी कायम गराउनु र स्वास्थ्यमापदण्ड पूर्णरुपमा लागू गराउनु नै हो ।