
नेपाली सेनाले जनताले छिटो लाभ प्राप्त गर्ने तथा सैनिक नागरिक सम्बन्धमा कोसेढुंगा सावित हुने कार्यक्रम कार्यान्वयनलाई पछिल्लो समय तीव्रता दिएको छ ।
स्थानीय आवश्यकता पहिचान गरी विकास, निर्माण र सामाजिक सेवाका कार्यक्रममार्फत सैनिक–नागरिक सम्बन्ध विस्तार गर्ने उद्देश्यले थोरै बजेटमा धेरै जनता लाभान्वित हुने कार्यक्रमलाई प्राथमिकतामा राखिएको सेनाका प्रवक्ता सन्तोषवल्लभ पौडेलले जानकारी दिए ।
सोही सन्दर्भमा सेनाले मोरङको धनपालथान गाउँपालिकाको दानावती चोकमा ट्रस घर सहितको हाटबजार निर्माण गरी स्थानीय सरकारलाई हस्तान्तरण गरेको छ । पूर्वी पृतनापति उपरथी अनन्त कार्कीले गाउँपालिकाका अध्यक्षलाई हाटबजार हस्तान्तरण गरेका सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । भौतिक पूर्वाधार मन्त्रालय र सेनाबाट ५०/५० लाख तथा गाउँपालिकाबाट कार्यक्रमका लागि १४ लाख रुपैयाँ बजेट उपलब्ध गराइएको थियो ।
रसुवामा तैनाथ कालीजङ्ग गणले गोसाईंकुण्ड गाउँपालिका–५ बुद्ध मन्दिरदेखि गोसाईंकुण्डसम्मको २ दशमलव ५८ किलोमिटर पद मार्गमा रेलिङ निर्माण गरेको छ । गणले चोलाङपाटीमा प्रतीक्षालय र बुद्ध मन्दिरमा अस्थायी टहरा बनाएको सेनाले जनाएको छ । त्यहाँ तैनाथ कालीजंग गणका गणपति प्रमुख सेनानी सविन्द्र नगरकोटीले लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालयका प्रमुख संरक्षण अधिकृत सुष्मा रानाको रोहवरमा गोसाईंकुण्ड गाउँपालिकालाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा ३५ लाख ६ हजार रुपैयाँ खर्च भएको जानकारी दिइएको छ ।
जुम्लामा तैनाथ नन्दाबक्स गणले चन्दननाथ नगरपालिका–२ स्थित कर्णाली माध्यमिक र बहिरा माध्यमिक विद्यालय भवन, बास्केटबल कोर्ट तथा शौचालय निर्माण गरी हस्तान्तरण गरेको छ । उक्त कार्यका लागि सेनाबाट २५ लाख रुपैयाँ उपलब्ध गराइएको थियो ।
गोरखामा तैनाथ रणसिंह दलले २५ लाख रुपैयाँको लागतमा त्यहाँस्थित नेपाल राष्ट्रिय भूतपूर्व सैनिक आवासीय विद्यालयमा ४ कोठे भवन र विद्यालयको पर्खाल निर्माण गरी हस्तान्तरण गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जानकारी दिएको छ ।