
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा कोरोनाका कारण मृत्यु हुनेको संख्या ७ रहेको जनाएको छ ।
बुधवार मन्त्रालयले एक सूचना जारी गरी पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या ७ रहेको जनाएको हो ।
मृत्यु हुनेमा सुनसरीका ६० वर्षीय पुरुष, मोरङका ६० वर्षीय पुरुष, सप्तरीका ३९ वर्षीय पुरुष, काठमाडौँकी ३४ वर्षीया महिला, ८६ वर्षीया महिला र ५४ वर्षीय पुरुष, रुपन्देहीका ८२ वर्षीय पुरुष रहेका छन् ।
मन्त्रालयका अनुसार नेपालमा कोरोनाका कारण हालसम्म ४ सय ९८ को मृत्यु भइसकेको छ ।
मन्त्रालयले पछिल्लो २४ घण्टामा १२ हजार २ सय ५ पीसीआर परीक्षण गरिएको र त्यसमध्ये १५ सय ५९ मा कोरोना संक्रमण देखिएको जनाएको छ ।
यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या २० हजार ८ सय ९१ पुगेको छ ।
पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या १ हजार ५७ रहेको छ । नेपालमा हालसम्म ५६ हजार ४ सय २८ कोरोना जितेर घर फर्किसकेका छन् ।
संकमितमध्ये काठमाडौँ जिल्लामा ६ सय ९७, भक्तपुरमा ९३ र ललितपुरमा १ सय १२ जना रहेका छन् । पछिल्लो समय काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा संक्रमितको संख्या बढिरहेको छ ।