०४ साउन २०८३, सोमबार

उच्च सतर्कताका बावजुद कुन स्रोतबाट छिर्‍यो भीभीआईपी अड्डामा कोरोना ?

असोज १८, २०७७
उच्च सतर्कताका बावजुद कुन स्रोतबाट छिर्‍यो भीभीआईपी अड्डामा कोरोना ?

पछिल्लो समय नेपालमा कोरोनाभाइरस (कोभिड– १९) को संक्रमण नेपालमा बढ्दै जाँदा देशका भीभीआईपी तथा प्रभावशाली नेताहरूमा पनि संक्रमण देखिन थालेको छ ।  

सरकारले साउन ७ गतेदेखि लकडाउन खुला र  त्यसपछि भदौ ३ बाट शुरू भएको निषेधाज्ञा भदौ २४ गतेदेखि खोलेपछि उपत्यकामा कोरोनाभाइरसको संक्रमण बढिरहेको छ ।

उपत्यका कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि देशका उच्चपदस्थ व्यक्तिहरूमा पनि कोरोना संक्रमण देखिन थालेको छ ।

देशको सबैभन्दा कडा सुरक्षा रहने प्रधानमन्त्री निवास बालुवाटारमा हिजो (असोज १७ गते शनिवार) ६३ जनामा कोरोना संक्रमण पुष्टि भयो ।

शुक्रवार दिएको स्वाब नमूनाको रिपोर्ट शनिवार आएपछि प्रधानमन्त्री केपी शर्मा ओली निवासका सुरक्षाकर्मीसहित उच्चपदस्थ अधिकारीलाई कोरोना संक्रमण पुष्टि भएको थियो । 

प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार विष्णु रिमाल, प्रेस सल्लाहकार सूर्य थापा, परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी तथा सुरक्षाकर्मीहरूलाई कोरोना संक्रमण पुष्टि भएपछि उनीहरू अहिले आइसोलेसनमा छन् ।

राजनीतिक सल्लाहकार रिमालले सामाजिक सञ्जाल ट्विटरमा ट्वीट गर्दै लेखे, ‘हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो । यसबीच मसँग सम्पर्कमा आउनुभएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु ।’ 

यस्तै प्रेस सल्लाहकार थापाले पनि सोही भाषामा आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी दिए । 

सुरक्षाका हिसाबले संवेदनशील र सर्तकता अपनाइने सर्वोच्च अदालतमा (आइतवार) केही न्यायाधीश, अधिकृत र कर्मचारीमा कोरोना संक्रमण र केहीमा आशंकापछि सर्वोच्च अदालतको काम प्रभावित बनेको सर्वोच्च अदालतले सूचना जारी गरेरै बतायो । 

कोरोना संक्रमणको आशंकामा न्यायाधीशहरू होम आइसोलेसनमा बसेका कारण आइतवार एउटा मात्र इजलास गठन गरिएको गरेको थियो ।  

सुरक्षाको हिसाबले संवेदनशील मानिने अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख आयुक्त नविन घिमिरे तथा केही कर्मचारी र सुरक्षाकर्मीलाई कोरोना संक्रमण पुष्टि भएपछि अख्तियारको केन्द्रीय कार्यालय टंगाल सिल नै गरिएको थियो ।

शनिवार नै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद गगन थापाले पनि आफूलाई कोरोना संक्रमण भएको जानकारी सामाजिक सञ्जाल ट्वीटरमार्फत दिएका थिए ।

कांग्रेसकै अर्का केन्द्रीय सदस्य अर्जुननरसिंह केसीलाई पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । केसी र थापा नाताले ज्वाइँ-ससुरा पनि हुन् ।

केही समयअगाडि प्रतिष्ठित उद्योगी विनोद चौधरीलाई पनि कोरोना भाइरसको संक्रमण भएको थियो र केही समय आइसोलेसनमा बसेर उनी निको भइसकेका छन् ।

कोरोनाभाइरसको संक्रमण बढ्दै गएपछि पछिल्लो समयमा भीभीआईपी, भीआईपी र नेताहरूमा पनि संक्रमण पुष्टि हुन थालेको छ । 

यसले नेपालमा कोरोनाको फैलावट कुन हदसम्म पुगेको छ भन्ने संकेत गर्ने जनस्वास्थ्य विज्ञहरूको बुझाइ छ । 

यद्यपि नेताहरूलाई संक्रमण पुष्टि हुने कुरा भने भीभीआईपीहरूको भन्दा अलि फरक छ ।

नेताहरूले सबैभन्दा धेरै मानिसलाई भेट्ने, कार्यकर्ता भेटघाट गर्ने र बन्द कोठामा मिटिङ गर्ने हुनाले कोरोना संक्रमणको जोखिम अत्यधिक रहेको जनस्वास्थ्य विज्ञ तथा वैज्ञानिक डा. समीरमणि दीक्षितले बताए ।

‘नेताहरू सबैभन्दा धेरै मानिसको सम्पर्कमा आउनुहुन्छ । कार्यकर्तासँग बन्द कोठामा मिटिङ गर्नुहुन्छ, त्यसैले उहाँहरू कोरोना संक्रमणको जोखिममा हुनुहुन्छ,’ डा‍. दीक्षितले लोकान्तरसँग भने, ‘बरु सर्वसाधारणले सावधानी अपनाएका छन्, उहाँहरूले अपनाएको देखिँदैन ।’

अधिकांश नेताहरूले स्वास्थ्यको समान्य प्रोटोकल मास्कसम्म पनि नलगाई कार्यकताहरूसँग भेट्ने गरेको तस्वीर बाहिरिएका थिए ।

नेताहरूले बन्द कोठामा लामो समयसम्म बैठक गर्ने र मास्कसम्म पनि नलगाउनाले कोरोना संक्रमण भएको डा. दीक्षितको भनाइ छ ।

‘सबैभन्दा धेरै स्वास्थ्य प्रोटोकल कायम नगर्ने नेता नै हुनुहुन्छ, उहाँहरूलाई कोरोना नहुने भन्ने नै भएन,’ दीक्षितले भने, ‘अरूलाई स्वास्थ्य प्रोटोकल अपनाउन भन्ने तर आफू गाडी चढ्दैमा कोरोना नलाग्ने भन्ने त होइन नि ?’

मन्त्री तथा नेताहरू कार्यकर्ता र जनतासँग जोडिए पनि सुरक्षाकर्मीहरू समाजसँग जोडिएका छन् । उनीहरू दैनिकरूपमा बाहिर निस्कन्छन् ।  समुदायमा जान्छन् ।

उनीहरूमार्फत् भीभीआईपी र भीआइपीहरूलाई कोरोना संक्रमण भएको हुनसक्ने जनस्वास्थ्य विज्ञ प्रा.डा. सरोज वन्तले लोकान्तरलाई बताए ।

‘सुरक्षाकर्मी समुदायसँग जोडिनुभएको छ । उहाँहरू भित्रबाहिर गर्नुहुन्छ, त्यसमार्फत नै समुदायको संक्रमण भीभीआईपीकोसम्म पुगेको हुनसक्छ,’ प्रा.डा. वन्तले भने ।

वन्तका अनुसार यसले गर्दा समुदायमा कोरोना भाइरसको  संक्रमण व्यापक छ भन्ने पुष्टि गर्छ ।

‘प्रधानमन्त्री मास्क लगाउँदा जोगिनुभएको हो’

प्रधानमन्त्रीले सामाजिक दुरी कायम र मास्कको प्रयोग गरेकै कारणले कोरोना भाइरसको संक्रमण नभएको डा. समीरमणि दीक्षितले बताए ।

‘प्रधानमन्त्रीले आफ्नो सुरक्षाको लागि आफैँ ख्याल गर्नुभएको छ, सधैँ मास्क प्रयोग गरेका देखिन्छ । त्यसैले उहाँलाई कोरोना भाइरसको संक्रमणबाट जोगाएको हो,’ विज्ञ डा. दीक्षितले लोकान्तरसँग भने ।

यसले गर्दा अरूलाई राम्रो सन्देश जाने र अरूले पनि सिक्न सक्ने उनको आशा छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पनि अब १५ दिन क्वारेन्टीनमा बस्नुपर्ने र कसैलाई भेट्न नहुने उनको सुझाव छ ।

salt training

कमेन्ट गर्नुहोस्