
कर्णाली प्रदेशमा कोरोनाभाइरसबाट थप एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखको नारायण नगरपालिका ८ का ४९ वर्षीय पुरुष रहेको कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
असोज १७ गते पेटमा अत्यधिक दुखाइको समस्या भइ दैलेख अस्पतालको आकस्मिक पक्षमा भर्ना भएकोमा उनको आन्द्रामा प्वाल परेकाले सोही दिन सुर्खेत अस्पताल रिफर गरिएको थियो ।
फेरि सोही दिन राति उनलाई सुर्खेतबाट आफन्तले एकाएक नेपालगन्ज लगेकामा कोहलपुर मेडिकल कलेजको कोभिड अस्पतालमा आइतबार दिउँसो मृत्यु भएको मन्त्रालयले जनाएको छ । मृतकमा कोरोना पोजेटिभ देखिएको भन्दै मन्त्रालयले यससँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० पुगेको जनाएको छ ।