
कोरोना संक्रमण र लकडाउनका बाबजुद आर्थिक वर्ष २०७६/०७७ मा सप्तरी र सिरहाका २६ किलोमिटर सडक कालोपत्रे भएको छ ।
लकडाउनकै बीच आर्थिक वर्ष २०७६/०७७ मा सिरहाको १२ र सप्तरीका १४ किलोमिटर सडक कालोपत्रे भएको सडक डिभिजन कार्यालय लहान सिरहाले जनाएको छ ।
सिरहाको लहान–भगवानपुर ठाडी सडकमा साढे ५ किमी, बन्दीपुर–उत्तराइनी सडकमा १ हजार ६०० मिटर, कर्जन्हा–बस्तीपुर सडकमा १ हजार २०० मिटर, हुलाकी सडकअन्तर्गत गणेशपुर चौकदेखि गोलबजारसम्मको ९५० मिटर, कसहा–औरही सडकमा ९०० मिटर र कसहा–मुक्सार सडकमा ५०० मिटर कालोपत्रे गरिएको सडक डिभिजन कार्यालय लहानका प्रमुख रविन्द्रलाल दासले जानकारी दिए ।
सप्तरीको शम्भुनाथ ट्राफिक चौक–बनैनियाँ सडकमा ८ किमी, रुपनी–कटैया सडकमा ३ किमी, रुपनगर चौकदेखि कञ्चनपुर सडकमा १ हजार ३०० मिटर र बरमझिया पूर्व सडकमा ८०० मिटर सडक कालोपत्रे गरिएको प्रमुख दासले बताए । सिरहा, सप्तरी र उदयपुरमा करीब ३५ किमी सडक स्तरोन्नति तथा निर्माण कार्य भइरहेको सडक डिभिजन कार्यालय लहानले जनाएको छ ।
आर्थिक वर्ष २०७६/०७७ मा सिरहा र सप्तरीमा २ वटा पुल निर्माण भएको छ । सिरहाको मुतनी खोलामा र सप्तरीको जुरी नदीमा पुल निर्माण भएको छ । ती दुवै जिल्लामा हाल २० वटा पुल निर्माणाधीन अवस्थामा छ । सिरहामा ९ र सप्तरीमा ११ वटा पुल निर्माणाधीन अवस्थामा रहेको र अधिकांश पुलको कार्य तीव्ररुपमा भइरहेको प्रमुख दासको भनाइ छ ।
सम्झौता अनुसार समयमा काम सम्पन्न नगर्ने ८ निर्माण कम्पनीमाथि सडक डिभिजन कार्यालय लहान सिरहाले कारवाही अघि बढाएको छ । सिरहा र सप्तरीमा विभिन्न १२ योजनाको सम्झौता गरेर पनि लामो समयसम्म काम सम्पन्न नगर्ने ८ निर्माण कम्पनिमाथि कारवाही अघि बढाइएको छ ।
बजगुरु कन्स्ट्रक्सन कम्पनी प्रालि काठमाडौं, बजगुरु विकास जेभी लहान, स्काइ लाइन कन्स्ट्रक्सन जनकपुर, निलगिरी निर्माण सेवा काठमाडौं, याकधुम्ह्याङ्गर बीपी कन्स्ट्रक्सन जेभी लहान, प्रकाशरआश्रय जेभी काठमाडौं, रोशन कन्सट्रक्सन प्रालि जनकपुर र जोशी कन्स्ट्रसन गाठाघर काठमाडौंमाथि कारवाही अघि बढाएको प्रमुख दासले जानकारी दिए । पहिलो चरणमा ती कम्पनीलाई स्पष्टीकरण सोधिएको र सन्तोषजनक जवाफ नआए कानूनी रूपमा कारवाही अघि बढाइने प्रमुख दासले बताए ।