
नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच रिक्त मन्त्रालयमा तत्कालै मन्त्री नियुक्ति गर्ने र मन्त्रिपरिषद्को व्यापक पुनर्गठन दशैंपछि गर्नेगरी सहमति भएको स्रोतले बताएको छ ।
अध्यक्षद्वय ओली र प्रचण्डबीच बिहीवार भएको भेटवार्तामा रिक्त मन्त्रालयमा आजभोलिमै मन्त्री नियुक्त गर्ने सहमति भएको विश्वस्त स्रोतले लोकान्तरलाई बतायो ।
रिक्त रहेका अर्थ, सञ्चार तथा सूचना प्रविधि र शहरी विकास मन्त्रालयमा नयाँ मन्त्री नियुक्त गर्नेबारे छलफल भएको नेकपा स्रोतले बतायो ।
तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले राजीनामा दिएपछि अर्थ मन्त्रालय प्रधानमन्त्री ओलीले नै सम्हालिरहेका छन् ।
भदौ २६ गते सम्पन्न स्थायी कमिटी बैठकले सरकारको काम प्रभावकारी बनाउन मन्त्रिपरिषद् पुनर्गठन गर्ने निर्णय गरेको थियो ।
केही मन्त्री मात्र हेरफेर गर्ने कि व्यापक पुनर्गठन गर्ने भन्नेबारे सहमति जुट्न नसक्दा ढिलाइ भइरहेको नेकपा स्रोत बताउँछ ।
मंगलवार बसेको सचिवालय बैठकमा भने पुनर्गठनबारे छलफल हुन सकेको थिएन ।