२६ जेठ २०८३, मंगलबार

सरकारले भन्यो– यसपटक दशैंमा पिङ नहाल्नुस् !

सरकारले भन्यो– यसपटक दशैंमा पिङ नहाल्नुस् !

सरकारले दशैं तिहारमा सार्वजनिक ठाउँमा लिंगे र रोटेपिङ नहाल्न आग्रह गरेको छ । 

बिहीवार नियमित प्रेस ब्रिफिङका क्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका कारण देशको कुनाकाप्चासम्म कोरोना संक्रमण विस्तार हुनसक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

'दशैंका बेलामा सार्वजनिक ठाउँमा लिंगे र रोटेपिङ नहालौं,' डा. गौतमले भने ।

उनले यसपालिको दशैंमा मन्दिरमा पूजारी मात्र उपस्थित भएर पूरा गर्ने व्यवस्था मिलाउन सबै सरोकारवाला निकाय र संस्थाहरूसँग आग्रह गरेका छन् । 

'दशैंतिहारमा देशको कुनाकाप्चामा संक्रमण फैलिने खतरा छ,' उनले भने, 'सबै ठाउँमा स्वास्थ्य सेवा पहुँच नभएको अवस्थामा परिस्थिति झन् गाह्रो हुन सक्छ । त्यस्तो ठाउँमा संक्रमण व्यवस्थापनको चुनौती छ । त्यसैले सबै तह र तप्काका व्यक्ति र संस्थालाई यसको व्यवस्थापनमा सरिक हुन आग्रह गर्दछौं । 

उनले पछिल्लो २४ घण्टामा ३४ सय ३९ मा कोरोना संक्रमण पुष्टि भएको बताए ।

पछिल्लो २४ घण्टामा १८ हजार ४ सय ७३ को पीसीआर परीक्षण गरिएको र तीमध्ये ३४ सय ३९ मा कोरोना संक्रमण देखिएको उनले बताएका हुन् । 

यससँगै नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६ सय ८४ पुगेको छ । 

डा. गौतमले काठमाडौँ जिल्लामा २ हजार ८५, भक्तपुरमा १ सय ३५ र ललितपुरमा ३ सय २० संक्रमित फेला परेको बताए । 

पछिल्लो २४ घण्टामा संक्रमणमुक्त भएर डिस्चार्ज हुनेको संख्या २६ सय ७५ रहेको छ । नेपालमा हालसम्म ७१ हजार ३ सय ४३ संक्रमणमुक्त भएर डिस्चार्ज भइसकेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्