
प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले आफूमा कोरोनाको कुनै लक्षण नदेखिएको र सर्तक रहँदा रहँदै पनि संक्रमित हुन पुगेको बताएका छन् । बिहीबार कोरोना संक्रमणमुक्त भएपछि उनले केही रमाइला अनुभूतिसहित आफ्नो आइसोलेसन बसाइका तितामिठा अनुभव सेयर गरेका छन् । उनले आफू होम आइसोलेसनमा बसेको र परिवारको चिन्ताका साथै छरछिमेकमा संक्रमण होला कि भन्ने डर पलाएको बताएका छन् ।
‘सतर्क रहँदा रहँदै पनि कसरी संक्रमित भएँ ? केबल अन्दाजै मात्र छ । लक्षण बिनाको संक्रमित– पहिलो दिन अलिअलि चिन्ता लाग्यो । आफ्नो भन्दा पनि आफ्नो परिबारका सदस्यको । संवेदनशील स्थान भएकोले, आफूले काम गर्ने ठाँउको र होम आइसोलेशनमा रहेकोले छरछिमेकको..।’ उनले सामाजिक सञ्जालमा आफ्नो अनुभव लेखेका छन्, ‘ मनमा आयो– अब के होला, अरुहरुले के सोचिरहेका होलान् ? कसैलाई केही भइ हाले म कति दोषि ठहरिउँला ? आदि ।’
संक्रमण अवधिभरी केही पनि अप्ठ्यारो महसूस नगरी आफूले आइसोलेसनको अवधि आज पार गरेको बताएका छन् । ‘दोस्रो चोटीको पिसिआर परीक्षणबाट परीणाम “नेगेटिभ” आयो । खुशी लाग्यो, म कोरोना मुक्त भएँ ।’
उनले कोरोना केही होइन भन्नु अतिरञ्जना हो भन्दै कोरोना लागेपछि सिद्धियो भन्नु त झनै उत्तेजनापूर्ण अफवाह भएको बताएका छन् । उनले संक्रमित भइसकेपछि चिकित्सकीय वा अन्य कुनै पनि सल्लाह, जसमाथि बढी विश्वास छ, उसैको सुझाव फलो गर्नुपर्नेमा जोड दिएका छन् ।
आफूले कीर्तिपुर आयुर्वेदिक अस्पतालका डा रामआधार यादवले सुझाएको आयुर्वेदिक औषधि प्रयोग गर्नुका साथै जनस्वास्थ्य विज्ञ डा रवीन्द्र पाण्डेले दिएको सुझावलाई अपनाएको बताएका छन् । त्यस्तै संक्रमण अवधिमा बेसार, कागती, गुर्जो, अदुवा सहितको पानी प्रसस्त पिएको पनि उनले बताएका छन् ।
उनले आइसोलेसन अवधिका समाइलो प्रसंग पनि सेयर गरेका छन् । उनले लेखेका छन्, ‘संक्रमणको दोश्रो दिन लेखक तथा पत्रकार विजय कुमारले फोन गरेर भन्नु भयो– बधाई ब्रदर । मैले सोधें– कुन खुशीमा ? उहाँले भन्नु भयो– २–४ दिनमा तपाई ठीक हुनुहुनेछ । त्यसपछि अरु असंक्रमितहरु भ्याक्सिन खोज्दै यताउता भौंतारिने छन् । तपाई आफ्नै शरीरमा पैदा भएको ‘एण्टीबडी’को बलमा ४–६ महीना शान संग काम गर्न पाउनु हुनेछ । अहिले आराम गर्ने, मेरो किताब– सम्बन्धहरु, पढ्ने ब्रो । मन चङ्गा भयो– कोरोना सल्केर निको भएपछि त काइदाको फाइदा पो हुने रहेछ ।’
उनले कोरोना नियन्त्रणका लागि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरिनुपर्नेमा जोड दिँदै महामारीको बेलामा अग्रभागमा खटिएका चिकित्सक र स्वास्थ्यकर्मीलगायत सबैमा आदरभाव व्यक्त गरेका छन् ।