अमेरिकामा राष्ट्रपति निर्वाचन आउनै लाग्दा डोनल्ड ट्रम्पले अक्टोबर १५ मा हुने भर्चुअल प्रेसिडेन्सियल डिबेटमा सहभागी नबन्ने घोषणा गरेका छन् ।
कोरोना संक्रमित भएपछि पहिलोपटक अन्तर्वार्ता दिँदै ट्रम्पले आमनेसामने भएर गरिने राष्ट्रपति बहसमा मात्र भाग लिने बताए ।
राष्ट्रपति बहस आयोगले अक्टोबर १५ मा मायामीमा प्रस्तावित राष्ट्रपति बहस अन्लाइन गरिने घोषणा गरेको थियो ।
दोस्रो बहस टाउनहल मीटिङ जस्तो गरी गर्ने र उम्मेदवारहरूले टाढा अर्कै ठाउँमा बसेर बहसमा सहभागी हुने आयोगले जानकारी दिएको थियो ।
आयोगले बहसको तरिका परिवर्तन गरेको आफूलाई स्वीकार्य नहुने ट्रम्पले बताए । यसमा समय बर्बाद नगर्ने उनको भनाइ छ ।
पहिलो बहसमा जो बाइडनलाई आफूले हराएको र दोस्रोमा पनि सजिलै हराउने ट्रम्पले बताए । मोडरेटरले भनेअनुसार आफूले बोल्नुपर्ने, नत्र आफूले बोलेको म्युट गरिने अवस्था आउने भएकाले भर्चुअल डिबेटमा आफ्नो चासो नरहेको उनको भनाइ छ ।
बाइडनले चाहिँ आयोगका तर्फबाट दिइएको सल्लाह मान्ने बताए । राष्ट्रपतिको मन हरक्षण परिवर्तन हुने हुनाले उनको कुरामा प्रतिक्रिया दिनु गैरजिम्मेवारी हुने बाइडनको प्रतिक्रिया छ ।
पहिलो बहसपछि नै ट्रम्पलाई कोरोना संक्रमण भएको पाइएकाले दोस्रो बहस भर्चुअल गराउन खोजिएको हो । तर ट्रम्पले यसमा सहमति नजनाएपछि के हुने हो भनी अन्योल छ ।