२३ असार २०८३, मंगलबार

उत्तर कोरियाको कारागारमा कैदीहरूलाई खरानी मिसिएको पानी खान बाध्य बनाइने गरेको खुलासा

असोज २३, २०७७
उत्तर कोरियाको कारागारमा कैदीहरूलाई खरानी मिसिएको पानी खान बाध्य बनाइने गरेको खुलासा

उत्तर कोरियाका कारागारमा कैदीहरूलाई अन्य मृत कैदी डढेपछिको खरानी मिसिएको पानी पिउन बाध्य बनाइएको खुलासा गरिएको छ । 

उनीहरूले विदेशी टीभी सिरीज हेरेको आरोपमा सजाय दिइएको हो । 
 

चोंगोरी श्रम शिविरमा कहालीलाग्दो समय बिताएका पूर्व कैदीहरूले उक्त कुरा बताएका हुन् । 

उक्त शिविरमा उत्तर कोरियालीहरूलाई दक्षिण कोरियाली टीभी सिरीज हेरेको वा क्रिस्चियन धर्म अपनाएको आरोपमा कैद गर्ने गरिएको छ । 

एक पूर्व कैदीले बताए, ‘प्रत्येक सोमवार हामी लाश डढाउँथ्यौं । एउटा घर जस्तो देखिने ठाउँ छ । त्यहाँ हामी गोलो ट्यांकीमा लाशहरू खातका खात राख्थ्यौं ।’

‘त्यस ठाउँमा रगतको गन्ध अनि कुहिएको वा डढिरहेको लाशको गन्ध आउँथ्यो,’ उनले भने ।

लाश डढाएपछि खरानीलाई डढाउने ठाउँ नजिकै राखिन्छ । खरानीहरू कम्पोस्ट मलका रूपमा उपयोग गरिन्छ । 

‘पानी परेपछि खरानी बगेर नदीमा पुग्थ्यो र कैदीहरू त्यही नदीको पानी पिउँथे अनि नुहाउन पनि त्यही पानी प्रयोग गर्थे ।’

अनि पानी परेको बेलामा दाउरा भिजेर लाश राम्ररी नडढ्ने पनि उनले बताए । 

ती कैदीले बताएका यी कुराहरू कमिटी फर ह्युमन राइट्स इन नर्थ कोरियाले प्रकाशन गरेको एक प्रतिवेदनमा उल्लेख गरिएको छ । 

प्रतिवेदनमा मृत कैदीहरूको शरीर डढाउनुअघि एउटा भण्डारकक्षमा राख्ने गरिएको खुलासा गरिएको छ । त्यहाँ ती लाशलाई मुसाले खाने र लाश कुहिने गरेको छ ।

उक्त संस्थाले भूउपग्रहीय तस्वीर उपयोग गरेर लाश डढाउने ठाउँ, कारागार भवन र जबर्जस्ती श्रम गर्न लगाइने ठाउँको लोकेसन उजागर गरेको छ । 

तीमध्ये एक ठाउँ तामाखानी हो । त्यसले नदीको पानीलाई थप प्रदूषित पारिरहेको र कैदीहरूले त्यही पानी पिउनु परेको विश्वास गरिएको छ । 

उक्त प्रतिवेदनका प्रमुख लेखक जोसेफ एस बर्मुडेजले बताए, ‘मानिसहरूले कल्पनातीत रूपमा दुःख भोगिरहेको हामीलाई थाहा छ ।’

salt training

कमेन्ट गर्नुहोस्