
पश्चिमाञ्चल होटल सङ्घ पोखराले सरकारले सातामा दुई दिन बिदा दिन गरेको प्रस्ताव स्वागतयोग्य भएको जनाउँदै यसलाई पारित गरी शीघ्र कार्यान्वयनमा ल्याउन माग गरेको छ ।
सङ्घले विज्ञप्ति जारी गरी हप्तामा दुई दिन सार्वजनिक बिदा दिने प्रस्ताव अत्यन्त व्यवहारिक र समय सान्दर्भिक रहेको उल्लेख गर्दै यसलाई पारित गरेर कार्यान्वयमा ल्याउनुपर्नेमा जोड दिएको हो । विज्ञप्तिमा भनिएको छ, “संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयबाट बिदा प्रस्तावलाई सर्वसम्मत पारित गर्न नेपाल सरकारसँग जोडदार माग गर्दछौ ।”
विज्ञप्तिमा कोभिड–१९ बाट प्रभावित व्यवसायीलाई लक्षित गरी पर्यटन मन्त्रालयबाट आएको प्रस्तावले पर्यटन तथा होटल उद्योगमा व्याप्त सङ्कटलाई जोगाउन विशेष भूमिका रहने जनाउँदै हप्तामा दुई दिन सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकार समक्ष अपिल गरिएको छ ।