०९ असार २०८३, मंगलबार

दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जाए–इनको जीवनी यस्तो छ

कात्तिक २०, २०७४
 दक्षिण कोरियाका नवनिर्वाचित राष्ट्रपति मून जाए–इनको जीवनी यस्तो छ

काठमाडौं, २७ वैशाख — दक्षिण कोरियामा मंगलवार सम्पन्न राष्ट्रपति निर्वाचनमा वामपन्थी विचारधाराका उदारवादी मून जाए–जिन विजयी भएका छन् ।


पूर्ववर्ती राष्ट्रपति पार्क गेउन–ह्येका पिताविरुद्ध प्रदर्शन गरेकाले कारागारमा बस्नुपरेका मून अहिले राष्ट्रपति हुँदा पार्क चाहिँ भ्रष्टाचार आरोपमा कारागारमा छिन् ।

उत्तर कोरियाबाट आएका आप्रवासीहरूका छोरा मून दक्षिणी टापु गेजोएमा बसेका बसेका थिए । सन् १९५३ मा जन्मिएका मूनकी आमाले उनी सानो हुँदा उनलाई आफ्नो ढाडमा बोकेर अण्डा बेच्ने गर्थिन् । त्यसैबाट उनीहरू गुजारा चलाउँथे ।

कोरियाली युद्धका बेलामा उनीहरू उत्तरबाट भागेर दक्षिण आएका थिए ।

उनको आत्मवृत्तान्तमा लेखिएअनुसार उनका पिताले युद्धबन्दीको शिविरमा काम गरेका थिए भने आमाले तटीय शहर बुसानमा अण्डा बेचेकी थिइन् ।

सन् १९७२ मा मून कानून क्याम्पसमा भर्ना भएका थिए तर लामो समय बसेनन् ।

उनलाई पार्क चुङ–हीको निरंकुश शासनको विरोध गरेकोमा पक्राउ गरिएको थियो । कारागारमा रहँदा नै कानून पढेर बारमा नाम निकालेका थिए उनले । पछि उनी रिहा पनि भए ।

सन् १९७६ मा मून दक्षिण कोरियाली सेनामा भर्ती भएका थिए । रुख काटेकोमा दुई अमेरिकी सैनिकलाई उत्तर कोरियाली सैनिकहरूले कारवाहीस्वरूप हत्या गरेपछि दक्षिण कोरियाले चलाएको सैन्य कारवाहीमा उनले भाग लिएका थिए ।

६ वर्षपछि उनी र उनका साथी तथा भविष्यका राष्ट्रपति रोह मू–ह्युनले बुसानमा एउटा ल फर्म खोलेर मानव तथा नागरिक अधिकारका मुद्दामा काम गरेका थिए ।

मून र रोह लोकतन्त्रको आन्दोलनका प्रमुख नेता थिए । देशभरि चलेको आन्दोलनपछि सन् १९८७ मा पहिलोचोटि निर्वाचन भएको थियो ।

आन्दोलन सफल भएपछि रोह राजनीतिमा प्रवेश गरे भने मून चाहिँ बुसानमै बसेर अदालतमार्फत लोकतन्त्रको लडाईं लडिरहे ।

सन् २००३ मा रोह राष्ट्रपति भएपछि मूनका प्रमुख सल्लाहकार भएका थिए ।

सन् २००९ मा रोहका विरुद्ध घूसखोरीको आरोप लागेर अनुसन्धानकर्ताहरूले पञ्जा कस्न थालेपछि उनले आत्महत्या गरेका थिए ।

मूनलाई प्रिय साथीको आत्महत्याले भित्रैबाट हल्लायो ।

आफ्नो साथीको बाटो पछ्याउँदै मून पनि राजनीतिमा होमिए । सन् २०१२ मा उनी पहिलोचोटि राष्ट्रपतिको उम्मेदवार भए तर पार्कसँग साँघुरो मतान्तरले हारे । उनी बुसानबाट सांसद चाहिँ बने ।

त्यसपछि मंगलवार उनी राष्ट्रपति बन्न सफल भएका छन् । उनी उत्तर कोरियासँग वार्ता गर्नुपर्ने पक्षमा छन् ।

कोरियाको शान्तिपूर्ण एकीकरण भएमा आमालाई लिएर उत्तर कोरिया जाने उनको धोको छ ।

दक्षिण कोरियामा फैलिएको आर्थिक असन्तोषलाई समाधान गर्ने चुनौती उनीसामु छ ।

बीबीसीबाट

salt training

कमेन्ट गर्नुहोस्