
चितवनको भरतपुर अस्पतालमा उपचारका क्रममा एक कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उप–महानगरपालिका वडा नम्बर ९ प्रगति टोलका ६६ वर्षीय पुरुष रहेका छन् ।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलका अनुसार असोज २७ गते ज्वरो, खोकी र श्वासप्रश्वासको समस्या भई अस्पताल भर्ना भएका उनमा २८ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो । सङ्क्रमण पुष्टि भएसँगै कोभिड सघन उपचार कक्षमा उपचारका क्रममा उनको आज मृत्यु भएको उनले बताए ।
यसैगरी कोरोना सङ्क्रमणका कारण काभ्रेको बेथान चोक गाउँपालिकाका एक वृद्धाको आज मृत्यु भएको छ । ती ७५ वर्षीया वृद्धाको बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ । योसँगै काभ्रेमा हालसम्म पाँच पुरुष र पाँच महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ ।