
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदमा गरेको हेरफेर र नयाँ नियुक्तिका विषयमा भारतले पनि चासो देखाएको छ ।
भारतबाट प्रकाशित हुने अंग्रेजी दैनिक हिन्दुस्तान टाइम्सको अन्लाइन संस्करणमा शिशिर गुप्ताले यस विषयमा टिप्पणी लेखेका छन् ।
उनले स्रोतहरूलाई उल्लेख गर्दै लेखेअनुसार, उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट मुक्त गरिनु भनेको भारतसँगको सम्बन्ध सुधारको पहल गर्नु हो ।
रक्षामन्त्रीका रूपमा पोखरेल भारतका सबभन्दा चर्का आलोचकमध्येका एक हुन् ।
अहिले ओली आफैंले यो मन्त्रालय सम्हालिरहेका छन् र भारतका सेनाप्रमुख मनोज मुकुन्द नरवाणेको नेपाल भ्रमणअघि पोखरेललाई हटाएर भारतलाई सकारात्मक सन्देश दिइएको हो, पत्रिकामा लेखिएको छ ।
भारतले नेपाली भूमि हुँदै सडक बनाएपछि नेपालको कडा प्रतिक्रिया आउँदा नरवाणेले चीनको उक्साहटमा नेपालले आवाज उठाएको भनी टिप्पणी गरेका थिए ।
उपप्रधानमन्त्री पोखरेलले समाचार संस्था रासससँग कुरा गर्दै नरवाणेको भनाइले भारतीय सेनामा रहेका नेपाली गोर्खा सैनिकहरूको भावनामा चोट पुगेको भनी बताएका थिए ।
पोखरेलले जनरल नरवाणेको आसन्न भ्रमणको पनि विरोध गरेको बताइएको छ । दुई देशबीचको सीमा विवादका बारेमा वार्ता गर्न भारत पहिले तत्पर हुनुपर्ने उनको भनाइ छ ।
प्रधानसेनापति जनरल पूर्णचन्द्र थापासँग पनि पोखरेलको अनबन रहेको हिन्दुस्तान टाइम्सले लेखेको छ । पोखरेलले दबाब दिएको भए पनि जनरल थापाले लिपुलेक विवादमा बयान जारी गर्न नमानेको लेखिएको छ ।
अनि कोभिड–१९ को उपचारका लागि चीनबाट ल्याइएका सामग्रीमा सेनाको नाम अनावश्यक रूपमा तानेकोमा पनि जनरल थापा उपप्रधानमन्त्री पोखरेलसँग असन्तुष्ट रहेको भनी लेखिएको छ ।