२५ जेठ २०८३, सोमबार

‘ताइवानलाई हतियार बेचेर अमेरिकाले चीनसँग युद्धको जोखिम बढायो’

असोज २९, २०७७
‘ताइवानलाई हतियार बेचेर अमेरिकाले चीनसँग युद्धको जोखिम बढायो’

चीनलाई आक्रोशित बनाउने गरी अमेरिकाको ट्रम्प प्रशासनले ताइवानसँग तीनवटा हतियार सम्झौताहरू गरेको सूचना दिएको छ । 

अमेरिकाले बेच्न लागेको रकेट लन्चर र क्षेप्यास्त्रहरू अत्याधुनिक आक्रमण प्रणाली हुन् । 

बेइजिङ यसबाट क्रुद्ध भएको छ र जवाफ फर्काउने प्रतिबद्धता व्यक्त गर्दैछ । 

ट्रम्पले जानीजानी चीनलाई चिढ्याउनका लागि सुनियोजित रूपमा यस समयमा हतियार सम्झौता गरेको स्पष्ट छ । अहिले ट्रम्प उनका प्रतिद्वन्द्वी जो बाइडन बेइजिङविरुद्ध को बढी कठोर देखिने भनी प्रतिस्पर्धा गरिरहेका छन् । चीनलाई चिढ्याउँदा ट्रम्पको कठोर छवि चम्किन पुग्छ । 

हालैका मतसर्वेक्षणहरूले ट्रम्प जो बाइडनभन्दा पछि परेको देखाइरहेका छन् जबकि चुनाव आउन तीन हप्ताभन्दा कम समय बाँकी छ । त्यसैले पुनर्निर्वाचित हुनका लागि ट्रम्पले सबै किसिमका प्रयासहरू गरिरहेका छन् । 

उनले अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजाने प्रक्रिया तीव्र बनाएका छन् अनि रुससँग आणविक हतियार सम्झौताको ढोल पिटिरहेका छन् । भोट पाउनका लागि ट्रम्पले यस्ता हर्कत गरिरहेका हुन् । 

तर ताइवानलाई हतियार बेचेर उनले यस निर्वाचन स्टन्टलाई खतरनाक स्तरमा पुर्‍याएका छन् । चीनले एकदुई दिन हल्ला गर्छ अनि पछि यसलाई बिर्सिन्छ अनि आफूलाई राजनीतिक फाइदा पुग्छ भनी उनले विचार गरिरहेका होलान् । 

तर स्थिति त्यति सहज छैन । ट्रम्प प्रशासनले चीनविरुद्ध ताइवानलाई हतियारका रूपमा लामो समयदेखि प्रयोग गरिरहेको छ । बेइजिङप्रति आक्रामकता देखाउने आफ्नो दृढनिश्चयलाई ट्रम्पले थप बलियो बनाउनका लागि पछिल्लो हतियार सम्झौता गरेका हुन् । 

ताइवानलाई घातक हतियारहरूको आपूर्ति गर्ने ट्रम्प प्रशासनको कदम अभूतपूर्व छ । वाशिङटनले एक चीन नीति अँगाल्दै सन् १९७९ मा ताइवानसँग औपचारिक सम्बन्ध तोडिसकेको छ । ट्रम्पअघिका अमेरिकी राष्ट्रपतिहरूले ताइवानलाई रक्षात्मक हतियार मात्र बेच्ने अनुमति दिएका थिए । 

तर ट्रम्प प्रशासनले एक चीन नीतिलाई त्याग्दै ताइवानको पृथक्तावादी अडानलाई समर्थन गर्ने संकेत दिएको छ । आक्रामक क्षेप्यास्त्र, जहाज ध्वस्त पार्ने माइनहरू र एफ–१६ लडाकू विमानहरू विगत एक वर्षमा बेचेर

अमेरिकाले ताइवानलाई चिनियाँ मुख्यभूमिसँग सशस्त्र द्वन्द्वका लागि तयार पारिरहेको छ । 

हालैका महिनाहरूमा ट्रम्प प्रशासनले अमेरिकाका वरिष्ठ अधिकारीहरूलाई ताइवानको भ्रमणमा पठाएको छ । अघिल्लो महिना संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत केली क्राफ्टले ताइवानको आधिकारिक प्रतिनिधित्वमा समर्थन गरिन् । यसरी ताइवनालाई स्वतन्त्र राष्ट्रको दर्जा दिने किसिमका उक्ति र वाशिङटनले उच्च शक्तिशाली सैन्य हतियारहरू पठाउनु संयोग मात्र हैन । 

यस्ता आक्रामक कदमहरूको जवाफमा चीनले पनि ताइवानलाई आफूमा मिसाउने लक्ष्य लिई सैन्यशक्तिको प्रदर्शन गरिरहेको छ । 

चीनविरुद्ध वाशिङटनमा दुवै पक्षका नेताहरू लागिपरेका छन् । यसको अर्थ हुन्छ, ताइवानलाई ट्रम्पले हतियार बेच्न खोजेको कदमलाई बहुमतले स्वीकृत गरिनेछ । यसबाहेक पनि अन्य चारवटा प्रमुख हतियार प्याकेजहरू पछिका लागि तयार पारेर राखिएको छ । 

अमेरिकाको परराष्ट्रनीति संस्थापन र पेन्टागनले विगत केही वर्षयता निकालेका दस्तावेजहरूमा चीनलाई प्रमुख प्रतिद्वन्द्वीका रूपमा हेरेका छन् । ट्रम्पले चुनाव हारेछन् भने पनि चीनविरुद्ध अमेरिकाको अडान कायम रहनेछ । 

चीनका राष्ट्रपति सी चिनफिङले यसै साता चिनियाँ जनमुक्ति सेनाका मरिनहरूलाई मुलुकको सार्वभौमसत्ता रक्षाका लागि युद्ध गर्नुपरे पनि तयार रहन बताउनु भनेको खतरनाक समय आउन लागेको संकेत हो । 
 

वाशिङटनले चीनको सार्वभौमसत्ता र राष्ट्रिय सुरक्षामा खेलवाड गर्नु र ताइवानलाई आक्रामक हतियार बेच्नु आगोमा खेले जस्तो हो । सानो झिल्कोले पनि ठूलो आगलागीको सम्भावना बढेको छ । 
 

आरटीमा प्रकाशित फिनियन कनिङघमको विश्लेषण
 

salt training

कमेन्ट गर्नुहोस्