
कोरोना भाइरस संक्रमणबाट थप १२ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिवार सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार थप १२ जनाको मृत्यु भएको हो । यससँगै कोरोनाले मृत्यु हुनेको संख्या ७२७ पुगेको छ ।
पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १५ हजार ४३८ आरटी–पीसीआर परीक्षण गर्दा ३ हजार १६७ जनामा संक्रमण पुष्टि भएको हो ।
कोभिड–१९ को राष्ट्रिय अद्यावधिक विवरण सार्वजनिक गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले राजधानी काठमाडौं उपत्यकामा १ हजार ७४६ संक्रमित थपिएका जानकारी दिए । जसमध्ये काठमाडौं जिल्लामा १ हजार ४५१, ललितपुर जिल्लामा १५२ र भक्तपुर जिल्लामा १४३ संक्रमित थपिएका हुन् ।
देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ७३७ रहेको प्रवक्ता गौतमले बताए । जसमध्ये संस्थागत आइसोलेसनमा १३ हजार २९९ जना र होम आइसोलेसनमा २५ हजार ४३८ जना रहेका छन् ।