
आर्मेनिया, अजरबैजान र स्वघोषित नागोर्नो–काराबाख गणतन्त्रका फौजहरूले मानवीय कारण देखाउँदै लडाइँ रोक्ने घोषणा गरेका छन् ।
युद्धमा थुप्रै सर्वसाधारण समेत हताहत भएपछि यो घोषणा गरिएको हो ।
दुई देशका परराष्ट्र मन्त्रालयले शनिवार अबेर राति यो निर्णय लिएको घोषणा गरेका हुन् र उनीहरूले उस्तै खाले विज्ञप्ति जारी गरे । युद्धविराम आजदेखि लागू भइसकेको छ ।
नागोर्नो–काराबाख क्षेत्र सेप्टेम्बर महिनाको अन्त्यमा नयाँ लडाइँको मैदान बनेको थियो । आर्मेनिया र अजरबैजान दुवैले यसका लागि एकअर्कामाथि दोषारोपण गरेका छन् ।
रुसको राजधानी मस्कोमा युद्धरत पक्षहरूबीच सम्झौता भएपछि युद्धविरामको घोषणा गरिएको हो । यसअघि अक्टोबर १० मा युद्धविराम गरिएको भए पनि त्यो लामो समय टिकेन ।
मस्कोले आर्मेनिया र अजरबैजानका अधिकारीहरूलाई वार्ताको टेबलमा ल्याएको हो । दुवै पक्षले यस युद्धविरामलाई प्रभावकारी बनाउनुपर्ने उसले बताएको छ ।
नागोेर्नो–काराबाखमा जातीय आर्मेनियालीहरू बस्ने गर्छन् र त्यो अजरबैजानबाट टुक्रिएको भूमि हो ।
यस क्षेत्रलाई आर्मेनियाली अधिकारीहरूले देशको पवित्र भूमि भन्ने गरेका छन् । सन् १९९० को दशकमा भएको रक्तरञ्जित युद्धमा अजरबैजानबाट यो टुक्रिएको हो ।
यसले आफूलाई स्वतन्त्र घोषणा गरेको भए पनि बाकुले यसलाई देशको अभिन्न भाग मान्ने गरेको छ । येरेभानले चाहिँ त्यहाँ रहेका आर्मेनियालीहरूलाई समर्थन गरेको भए पनि उक्त क्षेत्रको स्वतन्त्रतालाई मान्यता दिएको चाहिँ छैन ।