
सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कर्णालीमा देखिएको विवादबारे प्रधानमन्त्रीसमेत रहेका अर्का अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्न ओलीको सरकारीनिवास बालुवाटार पुगेका छन् ।
आइतवार अपराह्न सवा ४ बजेतिर प्रचण्ड बालुवाटार पुगेका हुन् । छलफल कर्णालीमा देखिएको समस्या समाधानमा केन्द्रित रहने बालुवाटार स्रोतको दाबी छ ।
मन्त्रिमण्डल पुनर्गठनमा ओलीसँग असन्तुष्ट देखिएका अध्यक्ष प्रचण्ड र ओलीबीच केहीदिन यता संवादहीनताको स्थिति पैदा भएको थियो ।
एक साता अघि कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध 'छापामार' शैलीमा अविश्वास प्रस्ताव दर्ता गरिएपछि उत्पन्न राजनीतिक हलचल अझै साम्य भएको छैन ।
नेकपा कर्णाली प्रदेशका सहइन्चार्जसमेत रहेका प्रदेश सांसद यामलाल कँडेलको नेतृत्वमा १८ सांसदहरूले मुख्यमन्त्री शाहीविरुद्ध हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।
त्यसपछि उत्पन्न परिस्थितिका बारेमा जानकारी लिन भनेर अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'ले मुख्यमन्त्री शाही, कँडेल, सचेतकबाट हटाइएका गुलाबजंग शाह, चन्द्रबहादुर शाही लगायतका नेताहरूलाई काठमाडौँ बोलाए । उनीहरू काठमाडौँ आएको पनि ४/५ दिन भइसक्यो ।
यसबीचमा उनीहरूलाई अध्यक्ष प्रचण्डले दुई समूहमा बिहीवार र शुक्रवार भेट दिएका थिए भने शनिवार प्रधानमन्त्रीनिवास बालुवाटारमा संयुक्त रूपमा ओलीसँग बैठक बस्यो ।
कर्णालीबाट आएका नेताहरूलाई दुवै अध्यक्षले छुट्टाछुट्टै भेट गरेर परिस्थितिको जायजा लिए । तर विवाद समाधानको ठोस विषयवस्तुबारे कुनै सहमति भएको छैन ।
शनिवार बालुवाटारमा अध्यक्ष प्रचण्डलाई पनि बोलाइएको तर उनले बालुवाटार जान अनिच्छा देखाएका थिए । ओलीले दुई अध्यक्षबीच छलफल र कुराकानी गरेपछि विवाद समाधान हुने भन्दै नेताहरूलाई आश्वस्त पारे ।
'अध्यक्ष ओलीले तपाईंहरू अहिले नजानुस, विवाद समाधान भएपछि जानुहोला भनेर भन्नुभयो,' चन्द्रबहादुर शाहीले लोकान्तरसँग भने, 'अहिले हामी काठमाडौँ नै छौं । केही न केही लिएर जान्छौं ।'