
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले दशैं भत्ता फिर्ताबारे निर्णय गर्न संसदीय दल स्वायत्त रहेको बताएका छन् ।
सांसदहरूले दशैं भत्ता लिएको समाचार पहिलोपटक लोकान्तर डटकमले खुलासागरेपछि आइतवारदेखि सांसदहरूले भत्ता फिर्ता गर्न शुरू गरेका छन् ।
कांग्रेस प्रवक्ता शर्माले सोमवार सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेख्दै जनता आइसोलेसन र भेन्टिलेटर नपाएर मर्दै, सांसदलाई दशैं भत्ता ? यो जायज प्रश्नलाई हामीले आत्मसात गर्नैपर्छ, भनेका हुन् ।
‘जनता आइसोलेसन र भेन्टिलेटर नपाएर मर्दै, सांसदलाई दशैं भत्ता ? यो जायज प्रश्नलाई हामीले आत्मसात गर्नैपर्छ । समय र परिस्थिति अनुकूल यस्तो विषयमा निर्णय गर्न पार्टीको संसदीय दल स्वायत्त छ । आवश्यक समन्वय साथ व्यक्तिगत होइन संस्थागत निर्णयमा संसदीय दल सक्षम रहनेछ,’ शर्माले भनेका छन् ।
यसअघि कांग्रेस केन्द्रीय मीनेन्द्र रिजालले संसदीय दलबाट निर्णय गरेर सबैले दशैं भत्ता फिर्ता गर्न प्रस्ताव गरेका थिए ।
कांग्रेस सांसद प्रकाशमान सिंह, बालकृष्ण खाण र गगन थापाले भत्ता फिर्ता गरिसकेका छन् ।