
बागलुङकी ४८ वर्षीया महिला लामो समयदेखि दीर्घरोगी थिइन् । उनमा मधुमेह लगायत समस्या थियो ।
जचाउनुपर्यो भनी गत असोज २९ गते उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगिन् । कोरोनाको लक्षण समेत देखिएपछि अस्पतालले पीसीआर गर्यो ।
परीक्षणका क्रममा कात्तिक २ गते मात्र रिपोर्ट आयो । रिपोर्टमा कोरोना पोजेटिभ उल्लेख थियो । अर्थात् उनी कोरोना संक्रमित समेत बनिन् ।
पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रका आइसोलेसन पहिलेदेखि नै भरिएका थिए । तसर्थ अस्पतालले उनको अवस्था सामान्य पाएपछि घरमै गएर होम आइसोलेसन बस्न सक्ने वा गाह्रो भए नजिकैको अर्को अस्पतालमा जान सक्ने भनी डिस्चार्ज गर्यो ।
उनी अस्पतालको सुझावअनुसार आफन्तको सहयोगमा कात्तिक २ गते पोखराबाट पर्वत हिँडिन् । पर्वत सदरमुकाम कुष्मामा रोजीरोटीका लागि सामान्य फलफूल व्यवसाय गर्दै बस्ने गरेकी ती महिला कुष्मामै बसिन् । घर कोठामा पुगेर आइसोलेसन बस्न थालेको केही घण्टामै सोही राति अर्थात् आइतबार राति ८ बजेतिर उनको मृत्यु भयो ।
बागलुङ नगरपालिका–१३ की ४८ वर्षीया कोरोना संक्रमित महिलाको आइतवार पर्वतको कुष्मा नगरपालिका–५ मा निधन भएको हो । उनको घर बागलुङ जिल्लाको बागलुङ नगरपालिका–१३ हो ।
यसबारे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक सहप्र्राध्यापक डा. अर्जुन आचार्यसँग जिज्ञासा राख्दा आचार्यले भने, ‘उहाँको अवस्था सामान्य रहेको र त्यसदिन अस्पतालका आइसोलेसन बेड समेत भरिएकाले होम आइसोलेसन बस्न वा गाह्रो भए नजिकैको अस्पतालमा जान सुझाव दिइएको थियो ।’ अस्पतालको कुनै लापरबाही नरहेको उनको दाबी छ ।
योसहित गण्डकीमा हालसम्म ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेशमा हालसम्म ५ हजार ८१६ जना कोरोना संक्रमित भइसकेका छन् । तीमध्ये करीब ३ हजार ५०० जना निको भएका छन् ।