
सुबिन भट्टराईको चर्चित कृति ‘समर लभ’मा आधारित सिनेमा ‘समर लभ’ले फूलपातीबाट स्याटालाइट यात्रा थालेको छ ।
निर्देशक मुस्कान ढकालले फिल्म दशैंको अवसर पारेर फूलपातीबाट डिशहोममार्फत् सार्वजनिक हुने जानकारी गराए । ढकालका अनुसार फिल्म डिशहोमको च्यानल नम्बर ८ मा हेर्न सकिने छ ।
हलमा प्रदर्शन भएको लामो समयपछि फिल्म स्याटालाइटमा आउन लागेको हो । ढकालले दशैंमा फिल्म हेर्ने दर्शकको परम्परालाई जीवन्त राख्न टीभीमै भए पनि रिलिज गर्न लागेको जानकारी गराए ।
‘दशैंमा नेपाली फिल्म हेर्ने दर्शक परम्परा रही आएको छ । यो वर्ष महामारीका कारण नयाँ फिल्म रिलिज हुन सकेका छैनन् । दशैं खल्लो नहोस् भनेर हामीले टीभीमै भए पनि रिलिज गर्ने निर्णय गरेका हौं,’ मुस्कानले भने । दर्शकले २२५ रुपैयाँमा सपरिवार फिल्म हेर्न सक्नेछन् ।
डिशहोमको प्रदर्शनपछि फिल्म ‘म्याक्स प्लेयर’ र ‘नेट टीभीमा पनि रिलिज गर्ने तयारी भइरहेको छ । मुस्कानले फिल्म तत्कालै यूट्युबमा भने रिलिज नहुने जानकारी गराएका छन् ।

सुरजसिंह ठकुरी, आशिष पिया, रेवती क्षेत्री, शिशिर भण्डारी लगायत कलाकारको अभिनय रहेको फिल्म गत वर्षको माघ २५ गते हलमा रिलिज भएको थियो । फिल्ममा सञ्जय लामाको छायांकन र पुष्पन प्रधानको संगीत रहेको छ ।