०४ असार २०८३, बिहीबार

स्थानीय भाषामा सेवासुविधाको जानकारी दिँदै नेपाल टेलिकम

कात्तिक ५, २०७७
स्थानीय भाषामा सेवासुविधाको जानकारी दिँदै नेपाल टेलिकम

नेपाल टेलिकमले देशका विभिन्न स्थानमा छरिएर रहेका फरक–फरक मातृभाषा बोल्ने सेवाग्राहीलाई लक्षित गरी कम्पनीका सेवाबारे जानकारी प्रदान गरेको छ ।

कम्पनीले उपलब्ध गराइरहेका सेवा सुविधाहरुको विस्तृत विवरण विभिन्न भाषाभाषी, जातजाती तथा समुदायसम्म पुर्‍याउने उद्देश्यले तिनै स्थानीय भाषामा कम्पनीले जानकारी प्रदान गरिरहेको हो ।  

यसका लागि नेपाल टेलिकम र रेडियो नेपालबीच व्यावसायिक सहकार्य जारी रहेको छ । विभिन्न बोल भएका फरक–फरक सन्देशहरू झण्डै डेढ दर्जन भाषामा रेडियो नेपाल केन्द्रीय प्रसारण केन्द्र सिंहदरबार तथा प्रादेशिक प्रसारण केन्द्रहरू धनकुटा, बर्दिबास, काठमाडौं, पोखरा, दाङ र दिपायलमार्फत प्रसारण भइरहेका छन् । 

राई बान्तवा, लिम्बु, पूर्वेली थारु, मैथिली, भोजपुरी, मगही, तामाङ, शेर्पा, उर्दु, नेपाल (नेवारी), गुरुङ, मगर, अवधि, पश्चिमा थारु, खाम मगर, डोटेली र राना थारु भाषामा विभिन्न सन्देश प्रसारण भइरहेका छन् । यी सन्देशमा नेपाल टेलिकमले प्रदान गरेका विभिन्न डाटा र भ्वाइस लगायतका सेवाहरु र तिनको प्रयोग गर्ने तरिकाबारे जानकारी प्रदान गरिने हुनाले देशभरी छरिएर रहेका विभिन्न भाषाभाषी र समुदायका सेवाग्राहीहरू लाभान्वित हुने टेलिकमका प्रवक्ता राजेश जोशीले जानकारी दिए ।

‘नेपाल टेलिकमले हाल अटम अफरको रूपमा विभिन्न प्रकारका भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । त्यसैगरी फेस्टिभल अफरका रुपमा दशैं, तिहार र छठ पर्वलाई समेटी जीएसएम/सीडीएमए मोबाइलको रिचार्जमा कुराकानीका लागि अतिरिक्त मिनेट बोनसका रुपमा उपलब्ध गराइरहेको छ,’ जोशीद्वारा प्रेषित विज्ञप्तिमा उल्लेख छ ।

नेपाल टेलिकमका विभिन्न सेवा प्रयोग गर्नका लागि १४१२, १४१५ आदि सर्ट कोड प्रयोग गर्न सकिन्छ । विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्छ । कम्पनीको ‘नेपाल टेलिकम एप’ बाट यस सम्बन्धी जानकारी लिन तथा सेवा खरिद गर्न सकिने जनाइएको छ ।

कम्पनीको वेबसाइट www.ntc.net.np मार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न सकिने प्रवक्ता जोशीले बताए । 

salt training

कमेन्ट गर्नुहोस्