०७ असार २०८३, आइतबार

राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र सांसददेखि मन्त्रीसम्मले फिर्ता गरे दशैं भत्ता

कात्तिक ५, २०७७
राष्ट्रपति, उपराष्ट्रपति, सभामुख र सांसददेखि मन्त्रीसम्मले फिर्ता गरे दशैं भत्ता

राष्ट्रपति विद्यादेवी भण्डारीले चाडपर्व बापतको भत्ता रकम फिर्ता गरेकी छिन् । कोरोना महामारीको समयमा पनि दशैं भत्ता लिएको भन्दै चौतर्फी आलोचना भएपछि सभामुख, मन्त्रीदेखि अधिकांश सांसदले दशैंभत्ता फिर्ता गरिसकेका छन् ।

राष्ट्रपति कार्यालयका प्रवक्ता डा. हरि दाहालले बुधवार एक विज्ञप्ति प्रकाशित गरी राष्ट्रपति भण्डारीले दुई महिनाको पारिश्रमिक र चाडबाड खर्च बापतको रकम कोषमा जम्मा गरिएको जानकारी गराएका हुन् । 

सांसदले दशैंभत्ता बुझेको समाचार लोकान्तर डटकमले शुक्रवार सार्वजनिक गरेपछि आइतवारदेखि सांसदहरूले भत्ता फिर्ता गर्न शुरू गरेका थिए । 

उपराष्ट्रपति नन्दबहादुर पुनले पनि चाडबाड बापत प्राप्त रकम कोरोना भाइरस संक्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको उनको निजी सचिवालयले जनाएको छ । 

प्रतिनिधि सभाका सभामुख अग्नि सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना लगायतले पनि दशैं भत्ता फिर्ताको निर्णय गरेका छन् । सभामुख सापकोटाले सोमवार एक विज्ञप्ति प्रकाशित गरी आफूलाई प्राप्त चाडबाड खर्च कोरोना कोषमा उपलब्ध गराउने निर्णय गरेका हुन् । 

सभामुख सापकोटाले दशैं भत्ता फिर्ता गर्ने सम्बन्धमा सत्तारुढ दल तथा प्रतिपक्षी दलले सुझबुझपूर्ण निर्णय गरेको भन्दै धन्यवाद व्यक्त गरेका छन् । अध्यक्ष तिमल्सिनाले भने आइतवार नै भत्ता फिर्ता गरेको सचिवालयले लोकान्तरलाई जानकारी दियो । 

मन्त्रीहरूले पनि फिर्ता गरे दशैं भत्ता

नेपाल सरकारका मन्त्रीहरूले दशैं भत्ता बापतको रकम कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन् । 

सोमवार बसेको मन्त्रिपरिषद् बैठकले दशैं भत्ता बापतको रकम कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिए । 

२०७६ भदौ ३१ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयका आधारमा सांसद र मन्त्रीहरूले दशैं भत्ता लिएका थिए । 

सरकारले दशैं भत्ता बापतको रकम कोरोना उपचार कोषमा जम्मा गर्न आग्रह समेत गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सरकारका मन्त्रीहरूले दशैं भत्ता बापतको रकम कोरोना कोषमा उपलब्ध गराउने निर्णय भएको सामाजिक सञ्जाल ट्वीटरमा सन्देश लेखेर गराएका छन् । 

नेकपा, कांग्रेस र जसपाले गरे संस्थागत रूपमै फिर्ता 

सत्तारुढ नेकपाका सांसदहरूले दशैंभत्ता एकमुष्ट रूपमा फिर्ता गर्ने निर्णय गरेको राष्ट्रिय सभामा नेकपा प्रमुख सचेतक खिमलाल भट्टराईले जानकारी दिए ।

नेकपा संसदीय दलका मुख्य सचेतक देवप्रसाद गुरुङले कात्तिक ५ मा संसद्मा महासचिवलाई पत्र लेखी नेकपाका सम्पूर्ण चाडपर्व खर्च उपचार कोषमा जम्मा गर्न आग्रह गरेका हुन् । 

‘हाल देशमा फैलिरहेको कोरोना महामारीले सिर्जना गरेको विषम परिस्थितिले गर्दा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले यस दलका सम्पूर्ण माननीय सदस्यहरूलाई यसपटक उपलब्ध हुन जाने चाडपर्व खर्च बापत एक महिना बराबरको रकम नेपाल सरकारको कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचार कोषमा जम्मा गर्ने निर्णय भएअनुसार रो रकम सोही अनुसार गरिदिने आवश्यक व्यवस्थाका लागि अनुरोध छ,’ गुरुङले लेखेको पत्रमा उल्लेख छ ।

नेकपा वरिष्ठ नेता झलनाथ खनाल, नेताहरू भीम रावल, गोकर्ण विष्ट लगायतले संसद् सचिवालयमै निवेदन दिएर भत्ता फिर्ताका लागि निवेदन दिएका थिए । 

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले दशैं भत्ता बापत आएको आफ्ना सांसदको सम्पूर्ण रकम कोरोना संक्रमण नियन्त्रण तथा उपचार कोषमा फिर्ता पठाउने निर्णय गरेको छ । 

कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमवार संसद्का महासचिवलाई सम्बोधन गर्दै पत्र लेखेर दशैं भत्ता फिर्ता गर्न आग्रह गरेका हुन् ।

‘कोरोना भाइरस महामारीका कारणले उत्पन्न हालको परिस्थितिमा आमनेपाली जनताले अभाव, पीडा र कठिनाइ भोगिरहेका छन् । यस्तो अवस्थामा जनप्रतिनिधिलाई दशैं भत्ता वितरण गर्ने सरकारको निर्णय समय सान्दर्भिक र उचित नभएकाले नेपाली कांग्रेसबाट प्रतिनिधित्व गर्नुहुने संघीय संसद्का सदस्यहरूलाई उपलब्ध गराइएको दशैं भत्ता बापतको रकम नेपाली कांग्रेसले फिर्ता गर्ने निर्णय गरेको छ,’ खाणले संसद्का महासचिवलाई लेखेको पत्रमा उल्लेख छ । 

कांग्रेसले दशैं भत्ता बापत आफ्ना सांसदको खातामा आएको ४३ लाख २० हजार ८ सय १० रुपैयाँ कोरोना उपचार कोषमा जम्मा गर्ने निर्णय गरेको छ ।

कांग्रेस संसदीय दलले कोरोना महामारीको समयमा दशैं भत्ता बाँड्ने सरकारको निर्णय अनुचित भएको पनि निष्कर्ष निकालेको छ । 

चाडबाड भत्ता फिर्तासम्बन्धी निर्णय र महासचिवलाई लेखेको पत्रको बोधार्थ सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई पनि जानकारी गराइएको छ । 

संसद्को तेस्रो ठूलो दल जनता समाजवादी पार्टी (जसपा)ले सांसदलाई चाडबाडको नाममा दिइने भत्ता खारेज गर्न माग गरेको छ ।

जसपा केन्द्रीय कार्यकारिणी समितिको सोमवार बसेको बैठकले दशैं भत्ता फिर्ता गर्ने निर्णय गरेको सो दलका प्रमुख सचेतक उमाशंकर अरगरियाले लोकान्तरलाई जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्