काठमाडौँ, २८ वैशाख - निर्वाचन आयोगले स्थानीय तह निर्वाचनबारे आवश्यक जानकारी दिन स्थापना गरेको ‘कल सेन्टर’मा मतपत्र र मतदाता नामावलीका सम्बन्धमा बढी जिज्ञासा आउने गरेका छन् ।

आयोगले यही वैशाख १५ गतेदेखि सुरु गरेको कल सेन्टरमा औषतमा मतदाता शिक्षा, मतदाता नामावली, मतपत्र तथा मतदान गर्ने तरिका, आचारसंहिता, आयोगको वेबसाइट, निर्वाचनमा सुरक्षालगायत विषयमा जानकारी लिन दैनिक सयौँ टेलिफोन आउने गरेका छन् ।
आयोगले उम्मेदवार, मतदातालाई तथा जिज्ञासा राख्ने जोसुकैलाई निर्वाचनका बारेमा जानकारी दिन मुलुकभरबाट फोन गर्दा पैसा नलाग्ने टोल फ्री नम्बर १६६००१४४२२२ को टेलिफोन व्यवस्था गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । कल सेन्टर दोस्रो चरणको निर्वाचन हुने मिति आगामी जेठ ३१ गतेसम्म सञ्चालनमा रहनेछ, गोरखापत्रमा खबर छ ।
कल सेन्टरमा एकैपटक छजनाले सँगै फोन गर्नसक्ने र त्यति नै सङ्ख्याका फोन प्रतीक्षामा रहने व्यवस्था गरिएको छ । फोन रिसिभरले फोनमा आएका जिज्ञासाको अवस्था हेरेर तत्काल समाधान गर्ने र अन्यको हकमा सम्बन्धित शाखाबाट जानकारी लिई जिज्ञासा मेट्ने काम गरिरहेको आयोगका उपसचिव तथा कल सेन्टरका संयोजक विसकसेन ढकालले बताए ।