काठमाडौं, ९ पुस – भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पूर्वराजा ज्ञानेन्द्र शाहले हालै जारी गरेको प्रेस वक्तव्यलाई लिएर मन्त्रिपरिषदमा सचेतनापूर्ण ढंगले छलफल भएको स्पष्ट पारेका छन् ।

शनिबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा मन्त्री लेखकले मन्त्रिपरिषदको बैठकमा उक्त प्रेस वक्तव्यलाई लिएर कुनै आधिकारिक निर्णय नभएपनि त्यसबारेमा बडो सचेतनापूर्ण रुपमा छलफल भएको बताएका हुन् । उनले भने,‘सरकारले देशको समसामयिक विषयमा छलफल गर्छ ।’
साक्षात्कारमा मन्त्री लेखकले सरकारले संविधान कार्यान्वयनको लागि नै संविधान संशोधन प्रस्ताव ल्याएको बताउँदै भने,‘संविधानको सर्वस्विकार्यतालाई फराकिलो बनाउने अनि यसको कार्यान्वयन गर्नको लागि नै सरकारले संविधान संशोधन प्रस्ताव ल्याएको हो, मेरो आग्रह छ यो प्रस्ताव राम्रो छ यसलाई पारित गर्नुपर्छ, यदि कसैलाई मन परेको छैन भनेपनि यसलाई फेल गरे भैगयो नि ।’
मन्त्री लेखकले उनले संसद अवरुद्ध गरेर प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राम्रो काम नगरेको आरोप लगाए ।
लेखकले प्रदेशको सिमांकन हेरफेरको प्रस्ताव त एमालेकै प्रस्ताव भएको जिकिर गरे ।
उनले यातायात व्यवस्थाको सुधारको लागि आफू गम्भिर रहेको उल्लेख गर्दै हाल चालक अनुमतिपत्र लिने देखिएको समस्याको समाधानको लागि आफूले पहलकदमी लिएको बताए । उनले चालक अनुमतिपत्र लिनको लागि अब सरकारले ४ वटा स्थान्मा व्यवस्था गरेको समेत जानकारी दिए । मन्त्री लेखकले भोलि दिउँसो ३ बजे अनलाईन फारामको उद्धघाटन् गर्ने समेत बताए । उनका अनुसार पर्सीबाट त अनलाईन सेवा नै सुरु हुनेछ ।