
काठमाडौं, २८ वैशाख — ‘तपाईंलाई जागिरबाट हटाइएको छ ।’ यी शब्दका साथ अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले फेडेरल ब्युरो फर इन्भेस्टिगेसन (एफबीआई) का निर्देशक जेम्स कोमेलाई निष्काशन गरे ।

एफबीआई निर्देशकलाई जागिरबाट निकाल्ने उनी दोस्रा अमेरिकी राष्ट्रपति हुन् ।
उनी र डिपार्टमेन्ट अफ जस्टिसका अधिकारीहरूले कोमे जागिरबाट निस्कनै पर्थ्यो भन्ने मान्यता राख्थे ।
तर विपक्षी डेमोक्रेटहरू यही समयमा किन उनलाई निकाल्नुपरेको भनेर शंका गर्छन् ।
उनलाई निकाल्नुमा चारवटा सम्भावित कारण देखिन्छन् :
१) आधिकारिक कारण
गृहमन्त्री हुँदा हिलारी क्लिन्टनले निजी इमेल सर्भरमा संवेदनशील सूचना राखेको सम्बन्धमा एफबीआईले गरेको अनुसन्धान विश्वासिलो नभएको भन्ने आधार सरकारले दिएको छ ।
कोमेले इमेल प्रकरणको अनुसन्धान सकिएको भने पनि पछि चुनावको मुखैमा आएर अनुसन्धान फेरि शुरु गरिएको बताएका थिए । हिलारीको हारका लागि यो पनि कारण रहेको बताइएको थियो ।
२) रुस
ट्रम्पले जितेको राष्ट्रपति निर्वाचनमा रुसले हस्तक्षेप गरेको भन्ने सम्बन्धमा एफबीआईले अनुसन्धान गरिरहेको (अझ ट्रम्पको चुनावी अभियान अनि रुसका बीच सम्पर्क रहेको सम्बन्धमा पनि जाँच भइरहेको) थियो ।
कोमेले कंग्रेसको इन्टेलिजेन्स कमिटीसमक्ष यस्तो अनुसन्धान चलिरहेको बताए अनि यो अत्यन्त जटिल भएकाले कहिले सकिन्छ भन्न नसकिने प्रस्ट पारे ।
ट्रम्प प्रशासनले भने रुससँग कुनै सम्बन्ध नरहेको बताउँदै आएको छ । रुससँगको सम्बन्धका बारेमा कुरा उठिरहँदा ट्रम्प क्रुद्ध भएको र कोमेलाई यसै क्रममा हटाइएको हुन सक्छ ।
३) उनी कोमेलाई मन पराउँदैनथिए
कोमेले आफूभन्दा बढी मिडियाको ध्यान खिँच्न सफल भएको ट्रम्पलाई चित्त बुझिरहेको थिएन । त्यसमाथि कोमेले सार्वजनिक रूपमा ट्रम्पको चुनावी अभियान र रुसबीचको सम्पर्क नरहेको नभनेकोमा पनि ट्रम्प असन्तुष्ट थिए ।
४) कुरा यीमध्ये बीचको वा कुनै पनि कुरा नहुन सक्छ ।
बीबीसीबाट