१० असार २०८३, बुधबार

यसपालि गाउँमा छैन दशैंको रौनक

कात्तिक ९, २०७७
यसपालि गाउँमा छैन दशैंको रौनक

पर्वतको मोदी गाउँपालिका स्थायी घर भइ हाल पोखरा–१२ मा बसोबास गर्दै आएकी शिला पौडेल जसरी पनि विगत वर्षमा दशैंमा आफ्नो घर पुग्थिन् । घटस्थापनादेखि छोराछोरीको विद्यालयमा दशैं बिदा शुरू हुने भएकाले उनी त्यसको १–२ दिनमै गाउँ पुग्थिन् । तर यसपटकको दशैंमा भने उनी गाउँ गइनन् ।

कोरोना महामारीको त्रासका कारण पौडेलले पहिलो पटक पोखरामै बसेर दशैं मनाउँदै छिन् ।

‘चाडवाडमा रमाइलो त आफ्नै गाउँमा हुन्थ्यो तर कोरोना संक्रमणको त्रासले यस पटक घर जान पाइएन,’ उनले भनिन्, ‘बजारमा संक्रमण बढिरहेकाले गाउँ जाँदा जोखिम हुने तथा आफ्ना कारणबाट अरुले दुःख नपाउन् भनेर सरकारको आग्रह मानेर पोखरामै दशैं मनाउने निर्णय गरेको हुँ ।’

विगत वर्षमा दशैं शुरू भएलगत्तै शहरबाट गाउँघर फर्किने क्रम शुरू हुन्थ्यो । शहरमा रोजगारी तथा विभिन्न पेशा व्यवसायमा आवद्ध भएकाहरू दशैंमा गाउँ फर्किदा शहर सुनसान हुन्थ्यो । गाउँमा चहलपहल बढ्ने गर्दथ्यो । विदेशमा भएका समेत वर्ष दिनमा एक पटक घर फर्केर दशैं मनाउने चलन थियो । गाउँघरमा घटस्थापनादेखि नै चहलपहल हुने गरे पनि यस वर्ष भने गाउँमा दशैंको खासै रौनक छैन ।

कोरोना महामारीका कारण सरकारले जारी गरेको चाडपर्व मनाउने मापदण्डका कारण जो कोही पनि घरभित्रै सीमित भएका छन् । शहरबाट गाउँ फर्किने थोरै मात्र छन् भने गाउँमा समेत कोभिड १९ को त्रास कायम रहेकाले अत्यावश्यक बाहेक घरबाहिर निस्कने कमै छन ।

चियापसल र चौतारी सुनसान छन् । दशैंलाई लक्ष्य गरी आयोजना गरिने महोत्सव र खेलकुद प्रतियोगिता लगायत यस वर्ष आयोजना भएनन् । पिङ तथा दशैंका अवसरमा आयोजना गरिने शुभकामना आदानप्रदान कार्यक्रमको रौनक नभएको माछापुच्छ«े गाउँपालिका ३ का वडाध्यक्ष सूर्यप्रसाद लम्सालले बताए ।

‘सरकारले आग्रह गरेकाले समेत होला यसपटकको दशैंमा गाउँघरमा समेत चहलपहल छैन, बजारबाट गाउँ आएका सर्वसाधारण समेत घरभित्रै सीमित छन्,’ वडाध्यक्ष लम्सालले भने, ‘यस पटक गाउँमा पिङ पनि हालिएका छैनन्, चहलपहल पहिला जस्तो छैन, हामीले आग्रह गरे अनुसार नै भएको छ ।’

विगतमा गाउँका टोलैपिच्छे खुला स्थान र चौतारीमा हालिने रोटेपिङ र लठ्ठे पिङमा बालबालिकादेखी वृद्धवृद्धासम्मको चहलपहल हुन्थ्यो । पिङ खेल्नका लागि लामो समय बालबालिका पालो पर्खिएर बसेका हुन्थे । यस वर्ष त्यस्तो दृश्य कतै देखिदैन । सरकारले आफू बसेकै स्थानमा चाडपर्व मनाउन आग्रह गरेपछि यस वर्ष दशैंमा गाउँ जानेहरु कम भएका हुन् । कोरोना संक्रमणको त्रास सर्वत्र छ ।

गाडीमा हिँड्न समेत यात्रु डराएका छन् । कतिपय त शहरबाट जाँदा गाउँमा संक्रमण फैलने डरले बजारमै बसेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्