
हुम्ला, २८ वैशाख — खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाही सरकारी स्रोतको दुरुपयोग गर्दै एक हप्तादेखि हुम्लामा बसेर चुनावी प्रचारमा लागेका छन् । मन्त्रीलाई निर्वाचन आचार संहिताले धेरैदिन सम्म गाउँमा बस्न समेत दिँदैन । तर उनी कांग्रेसका उम्मेदवारलाई जिताउन त्यहाँ पुगेका छन् । कांग्रेस भित्र पनि आफ्नो वडाको वडा अध्यक्षलाई जिताउनको लागि उनी हप्तादिन देखि हुम्लामा बसेका छन् ।
उनी अहिले हुम्लाको सदरमुकाममा बसेका छन् । सदरमुकामबाट दुई घण्टाको टाढाको गाउँमा उनी दैनिकजसो हेलिकोप्टर लिएर पुग्छन् । जिल्ला स्थित सरकारी कार्यालयका गाडी प्रयोग गरिरहेका छन् । भने सरकारी कर्मचारीलाई पनि प्रभावमा पारेका छन् ।
खार्पुनाथ गाउँपालिको आफ्नो वडा वडानम्बर ५ का वडाअध्यक्षको रुपमा उठेका स्वतन्त्र उम्मेदवार प्रकाशबहादुर शाहीलाई हराउन उनी त्यहाँ बसेको कांग्रेस कार्यकर्ताहरु बताउँछन् । कांग्रेसले टिकट नदिएपछि उनी स्वतन्त्र रुपमा वडाअध्यक्ष उठेका छन् ।
उनी कांग्रेसका वडाअध्यक्षका उम्मेदवार भिमराज शाहीलाई जिताउनको लागि त्यहाँ पुगेका हुन् । प्रकाशबहादुर कांग्रेसका चर्चित नेता थिए तर मन्त्री शाहीले पूर्वाग्राही रुपमा आफ्नो नाता पर्ने भिमराजलाई वडाअध्यक्षको टिकट दिलाइदिएका हुन् ।
उनले सदरमुकाममा बस्ने र गाउँमा पुगेर समेत चुनावी प्रचारमा जुटेपछि अरु दलका कार्यकर्ताहरुले विरोध जनाएका छन् ।