चितवन, ९ पुस – चितवनका दुई छुट्टाछुट्टै स्थानमा पौडी खेल्न गएका दुई किशोर नदीमा डुबेर बेपत्ता भएका छन् ।
आज अपराह्न पौडी खेल्ने क्रममा पूर्वी चितवनको राप्ती नदीमा र कविलासस्थित नारायणी नदीमा डुबेर उनीहरु बेपत्ता भएका हुन् ।
खैरहनी नगरपालिका बस्ने १८ वर्षीय प्रवीण रोइला राप्ती नदीमा नुहाउने क्रममा डुबेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
आठजना विद्यार्थी सामूहिकरुपमा पौडी खेल्न गएका थिए । सुरुमा नदीमा हाम्फाल्नेबित्तिकै प्रवीण डुबेपछि अरु नदीमा पस्न नभ्याएकाले सकुशल रहेको स्थानीयवासी ईश्वरी पाठकले जानकारी दिए ।
यस्तै आजै कविलास–१ जुगेडीस्थित नारायणी नदीमा नुहाउन गएका नमस्ते नेपाल होटल जुगेडीमा काम गर्ने १९ वर्षीय इमान लामा पनि डुबेर बेपत्ता भएको प्रहरी उपरीक्षक दीपक थापाले जानकारी दिए ।
उनका अनुसार उनीहरुको खोजी जारी भए पनि अझै फेला पार्न सकिएको छैन ।