१४ असार २०८३, आइतबार

मेयर शाक्यकी छोरीले गरिन् ‘प्लाज्मा दान’

कात्तिक १५, २०७७
मेयर शाक्यकी छोरीले गरिन् ‘प्लाज्मा दान’

काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले  कोरोना संक्रमणका कारण गम्भीर बिरामीको प्लाज्मा थेरापी मार्फत जीवन बचाउन सहयोगका लागि ‘प्लाज्मा दान’ गर्न अपिल गर्नुभएको छ । 

केही समय अघि कोरोनामुक्त भई स्वस्थ जीवनमा फर्किनु भएका प्रमुख शाक्यले कोरोनाका गम्भीर बिरामीको ज्यान बचाउन आफु प्लाज्मा दान दिन तयार रहेको भन्दै अरुलाई पनि यस्तो पुण्य काममा सहयोग गर्न अपिल गर्नुभएको हो ।

‘मलाई कोरोना संक्रमण भएको केही दिनपछि पत्नी र छोरीलाई पनि पोजेटिभ देखियो । अहिले हामी सबै स्वस्थ जीवनमा फर्किएका छौँ,’ शाक्यले भने‘छोरी पलिस्थाले हिजो मात्रै कान्तिपुर अस्पताल तीनकुनेमा पुगेर ‘प्लाज्मा दान’ गरेकी छिन् ।’ 

कोरोनाका कारण गम्भीर बिरामी भएकाहरुको जीवन बचाउन प्लाज्मा थेरापीले उपचारमा ठूलो सहयोग मिल्ने र संक्रमणमुक्त भइसकेकाहरूलाई ‘प्लाज्मा दान’ गर्न पनि प्रोत्साहन होस भन्ने उदेश्यले परिवारबाटै प्लाज्मा दिन सुरुवात गरेको शाक्यले जानकारी दिए ।  

पलिस्थाले दान गरेको प्लाज्माबाट कोभिड र निमोनियाका कारण विरामी भई ओम नर्सिङ होममा उपचार गराइरहनु भएकी काठमाडौँ महानगरपालिका वडा–४ की ७६ वर्षिया महिलाको उपचार भैरहेको छ । 

‘काठमाडौँ उपत्यकाका र महानगरपालिका पछिल्लो समय कोरोनाको हटस्पट बनिरहेको छ । यस्तो बेलामा संक्रमणपछि स्वस्थ जीवनमा फर्किनु भएका र स्वस्थ मानिसलाई प्लाज्मा दान गर्ने हो भने धेरैको ज्यान बचाउन सकिन्छ,’ शाक्यले भने, ‘कोरोना संक्रमित भनेर कसैले कसैलाई दुव्र्यवहार नगर्न पनि विनयपुर्वक आग्रह गर्दछु । संक्रमितलाई सबैको प्रोत्साहन प्राप्त भयो भने सबै भन्दा ठूलो औषधी त्यही हुन्छ ।’ 

उनले अहिले काठमाडौँ महानगरपालिकाका विभिन्न वडामार्फत संक्रमितलाई प्रोत्साहन दिन फलफुल, मास्क, आयुर्वेदिक औषधीलगायतका सामाग्री लिएर जनप्रतिनिधि होम आइसोलेसन र आइसोलेसनमा पुग्ने गरेको पनि जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्